Dhulikhel Eco Banner new

नेपालको शेयर बजारमा ‘आफ्टर मार्केट अर्डर’ लागू हुने

3.5K
shares

नेपालको शेयर बजारलाई आधुनिक र लगानीमैत्री बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘आफ्टर मार्केट अर्डर’ (AMO) प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको छ। सोमबार सेबोनको बैठकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) द्वारा पठाइएको ‘धितोपत्र कारोबार संचालन विनियमावली’ संशोधनको प्रस्तावलाई स्वीकृत गरेको हो।

यस निर्णयसँगै सेबोनले शेयर बजारमा सुधार ल्याउने प्रक्रिया अघि बढाएको छ। तथापि, यो प्रणाली पूर्ण रूपमा लागू गर्नका लागि नेप्से सञ्चालक समितिले औपचारिक रूपमा पारित गर्नुपर्ने बाँकी छ। त्यसपछि मात्र लगानीकर्ताले ‘आफ्टर मार्केट अर्डर’ प्रणालीको फाइदा उठाउन सक्नेछन्।

यो व्यवस्था लागू भएपछि लगानीकर्ताले नियमित बजार समयको बाहेक (बिहान ११ देखि दिउँसो ३ बजे) पनि शेयरको अर्डर राख्न सक्नेछन्। ‘आफ्टर मार्केट अर्डर’का लागि कुनै निश्चित समय सीमा तोकिएको छैन, जसले गर्दा लगानीकर्ताले आफ्नो अनुकूल समयमा अर्डर राख्न सक्नेछन्। यसरी राखिएको अर्डर अर्को दिन बजार खुल्ने बित्तिकै प्राथमिकताका आधारमा कार्यान्वयन हुनेछ।

विशेषगरी विदेशमा रहेका नेपालीहरूलाई यो नयाँ सुविधा फाइदाजनक हुनेछ। नेपाल र विदेशको समय क्षेत्रको भिन्नताका कारण विदेशमा रहेका नेपालीलाई नेपालमा बजार खुलेको समयमा कारोबार गर्न समस्या उत्पन्न हुन्थ्यो। अब उनीहरूले आफ्ना अनुकूल समय अनुसार अर्डर राख्न सक्नेछन्।

त्यसैगरी, कार्यालय समयमा व्यस्त रहने कर्मचारी र अन्य पेसाकर्मीहरूलाई पनि अब बिहान वा बेलुकाको समयमा आफ्ना व्यापारिक योजना अनुसार अर्डर राख्न सक्ने सुविधा हुनेछ। यसले गर्दा शेयर बजारमा सहभागी हुने लगानीकर्ताको संख्या बढ्ने अपेक्षा गरिएको छ।

यसको कार्यान्वयनपछि बजारमा शेयरको आपूर्ति र मागमा सन्तुलन आउने र कारोबारको रकममा वृद्धि हुने संभावना छ। यससँगै, अधिक लगानीकर्ता शेयर बजारमा सहभागी हुन सक्नेछन्।