सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीमा लागू नहुने
वि.सं.२०८२ चैत २५ बुधवार १७:४३
shares

काठमाडौं, २५ चैत । सरकारले इन्धन मूल्यवृद्धिका कारण यात्रुवाहक सवारीसाधनको भाडा करिब १७ प्रतिशतले बढाएको भए पनि उक्त वृद्धि विद्युतीय सवारीसाधनमा लागू नहुने स्पष्ट गरेको छ। यातायात व्यवस्था विभागले बुधबार सार्वजनिक गरेको निर्णयअनुसार नयाँ भाडादर पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीमा मात्र लागू हुनेछ।
विभागका अनुसार भाडा समायोजन गर्दा इन्धनको मूल्यमा आएको परिवर्तनलाई मुख्य आधार बनाइएको छ। कुल १३ सूचकको विश्लेषण गरी भाडा निर्धारण गरिएको र विद्युतीय सवारीसाधनमा इन्धन लागत नपर्ने भएकाले त्यस्ता सवारीमा वृद्धि लागू नगरिएको जनाइएको छ।
हालका लागि एक प्रदेशबाट अर्को प्रदेशमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा मात्र नयाँ भाडादर लागू गरिएको छ। छोटो दूरीका सवारी, अर्थात् एकै सहर वा प्रदेशभित्र सञ्चालन हुने सवारीसाधनको भाडा भने सम्बन्धित प्रदेश सरकारले नै निर्धारण गर्ने व्यवस्था रहेको विभागले जनाएको छ।

















