आजको नेप्से: के होला बजारको चाल ?
वि.सं.२०८२ चैत २६ बिहीवार ०८:००
shares

बुधबार दोहोरो अंकको वृद्धिसँगै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार कस्तो गतिविधि देखाउला त भन्ने लगानीकर्ताको जिज्ञासा बढेको छ। अघिल्लो कारोबार दिन परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेको थियो भने कारोबार रकम पनि ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँमा पुगेको थियो।
बुधबारको सकारात्मक गतिविधिले बजार तेजीको चरणमा प्रवेश गर्ने संकेत देखिए पनि आजको कारोबारमा यो गति कायम रहन्छ कि रहँदैन भन्ने अनिश्चितता छ। विशेष गरी हालै आइपिओ निष्कासन गरेर सूचीकृत भएका कम्पनीको शेयरमा केन्द्रित भएको उछाल दिगो हुन्छ कि हुँदैन भन्ने प्रश्न महत्त्वपूर्ण छ।
प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालका अनुसार २८४० को स्तर महत्त्वपूर्ण प्रतिरोध (रेजिस्टेन्स) रहेको छ। यदि आजको कारोबारमा बजारले यो स्तर पार गर्न सकेमा थप तेजीको सम्भावना छ। तर यो स्तर पार गर्न नसकेमा बजार २६२० सम्म झर्न सक्ने उनको आंकलन छ।
विदेशमा बसेर नेपाली शेयर बजारमा लगानी गर्दै आएका दुर्गा प्रसाद काफ्लेले आज बजारमा सकारात्मक परिवर्तन हुने अपेक्षा राखेका छन्। उनले विदेशबाट पनि बजारको गतिविधि नियमित अनुगमन गरिरहेको र आजको कारोबारमा ठूलो परिवर्तन आउन सक्ने धारणा राखेका छन्।
युवा प्राविधिक विश्लेषक तथा लगानीकर्ता प्रज्वल भण्डारीले भने बजार अहिले स्थिर अवस्थामा रहेकाले आज पनि पर्ख र हेरको रणनीतिमा बस्नु नै उपयुक्त रहने टिप्पणी गरेका छन्। उनले हतारमा निर्णय लिनुभन्दा बजारको दिशा स्पष्ट नभएसम्म पर्खनु बुद्धिमानी हुने धारणा राखेका छन्।
लगानीकर्ता सुनिल वाग्लेले बजार सकारात्मक मोडमा प्रवेश गर्न थालेको बताउँदै आज पनि यो गति कायम रहने विश्वास व्यक्त गरेका छन्। हालैका दिनमा बजारमा आएको सुधारले आत्मविश्वास बढेको र आजको कारोबारमा पनि यो निरन्तरता रहने उनको भनाइ छ।
बुधबारको बजारले एकैसाथ दोहोरो अंकको परिसूचक वृद्धि, कारोबार रकममा उल्लेखनीय बढोत्तरी र सबै उपसमूहको हरियाली — यी तीनवटै सकारात्मक संकेत एकसाथ प्रस्तुत गर्यो। आजको कारोबारले यो सकारात्मकता निरन्तरता पाउँछ कि पाउँदैन भन्ने कुरामा बजार सहभागीको नजर रहनेछ। विशेषगरी, जेन्जी स्टकहरूमा केन्द्रित कारोबारले तेजी ठोस आधारमा उभिएको हो वा यो केवल अल्पकालीन सट्टेबाजी हो भन्ने कुरा आजको बजार गतिविधिले नै स्पष्ट पार्ने देखिन्छ।

















