Dhulikhel Eco Banner new

सूर्यज्योति लाइफको शेयर बेच्दै एनआईसी एशिया बैंक, सबैले किन्न पाउने

1.26K
shares

काठमाडौं, २६ चैत । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहअन्तर्गत २ लाख कित्ता शेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ।

बैंकले जारी गरेको सूचनाअनुसार, इच्छुक तथा योग्य लगानीकर्ताहरूले आज चैत २६ गतेदेखि २०८३ वैशाख ३ गतेसम्म कार्यालय समयभित्र बोलपत्र पेश गर्न सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७५ रुपैयाँ तोकिएको छ।

यस प्रक्रियाअन्तर्गत लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम आवेदनका लागि कुनै सीमा निर्धारण गरिएको छैन।

बोलपत्र आवेदन फाराम एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली, काठमाडौं तथा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय र देशभरका प्रमुख शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ। साथै, भरेको आवेदन सोही स्थानहरूमा बुझाउन पनि सकिने व्यवस्था गरिएको छ।

बैंकका अनुसार काठमाडौं (थापाथली) सहित विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतस्थित शाखा कार्यालयहरूलाई बोलपत्र संकलन केन्द्र तोकिएको छ। यस शेयर बिक्रीको बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले सम्हाल्नेछ।

बैंकले लगानीकर्ताहरूलाई तोकिएको समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको छ।