Dhulikhel Eco Banner new

स्वार्थ बाझिने काम गरेको भन्दै श्रममन्त्री दीपककुमार साह पदमुक्त

2.67K
shares

काठमाडौं, २६ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसमा प्रधानमन्त्रीले उक्त निर्णय लिएका हुन्।

रास्वपाका सभापति रवि लामिछाने ले मन्त्री साहलाई पदबाट हटाउन प्रधानमन्त्रीसमक्ष पत्र पठाएका थिए। उक्त पत्रमा मन्त्री साहले पदमा रहँदा पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाइएको छ।

पत्रअनुसार, मन्त्री साहले आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट देखिएको उल्लेख गरिएको छ। सोही विषयलाई लिएर पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा आँच पुग्ने अवस्था सिर्जना भएको भन्दै कारबाही सिफारिस गरिएको हो।

रास्वपाले पार्टी विधानअनुसार पदको दुरुपयोग भएको अवस्थामा जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्री साहलाई पदमुक्त गर्न आग्रह गरेको थियो।

यसै सन्दर्भमा, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता लाई समेत आफ्नो जिम्मेवारीप्रति अपेक्षित गाम्भीर्यता नदेखाएको भन्दै सचेत गराउन सिफारिस गरिएको पत्रमा उल्लेख छ।प्रधानमन्त्रीको निर्णयसँगै मन्त्री साह पदमुक्त भएका छन्।