Dhulikhel Eco Banner new

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, आज देखि नयाँ दर लागू

780
shares

काठमाडौं — नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको छ, जसअनुसार पेट्रोल, डिजेल, मट्टीतेल, एलपी ग्यास तथा हवाई इन्धन सबैको मूल्य बढाइएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७ रुपैयाँले वृद्धि भई २१९ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर २५ रुपैयाँका दरले वृद्धि गरिएको छ, जसअनुसार यी दुवैको नयाँ मूल्य २०७ रुपैयाँ कायम भएको छ । एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ वृद्धि गरिएको छ र अब उपभोक्ताले एक सिलिन्डरका लागि २०१० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ६ रुपैयाँले बढाएर २५७ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमका अनुसार मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको छ, जसको प्रत्यक्ष प्रभाव स्वदेशी मूल्यमा परेको हो ।

निगमले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म छुट दिँदा पनि घाटा कम गर्न नसकेको जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निगमले अन्तर्राष्ट्रिय मूल्यको चाप र आन्तरिक आर्थिक भारका कारण मूल्य वृद्धि अपरिहार्य बनेको स्पष्ट पारेको छ । यस मूल्यवृद्धिले उपभोक्ता बजारमा थप महँगी बढाउने र दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पार्ने देखिएको छ ।