दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा
वैशाख २ देखि देशभर तथ्याङ्क सङ्कलन सुरु हुने
वि.सं.२०८२ चैत २९ आइतवार ०६:५२
shares

राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो राष्ट्रिय आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। कार्यालयका अनुसार गणक तथा सुपरीवेक्षकहरू देशभर परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेका छन्, जसले अबको केही दिनमै औपचारिक रूपमा गणना प्रक्रिया सुरु हुने संकेत दिएको छ।
निर्धारित कार्यतालिकाअनुसार आगामी वैशाख २ गतेदेखि देशभर स्थलगत तथ्याङ्क सङ्कलन सुरु गरिनेछ। उक्त काम आगामी असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस कार्यका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ, जसले देशभरका उद्योग, व्यवसाय र सेवा क्षेत्रको विस्तृत विवरण सङ्कलन गर्नेछन्।
यसैबीच, स्वर्णिम वाग्लेले आर्थिक गणनालाई सफल बनाउन सबै उद्योगी, व्यवसायी तथा सरोकारवालालाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्। उनले मुलुकको औद्योगिक तथा आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्न यो अभियान महत्वपूर्ण रहेको उल्लेख गर्दै सही र पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेका छन्।
गणनाको क्रममा आर्थिक क्षेत्रका १८ वटा मुख्य क्षेत्रअन्तर्गत उद्योग, व्यापार, सेवा, सहकारी तथा निजी–सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी आधारभूत तथ्याङ्क सङ्कलन गरिनेछ। दर्ता भएका तथा नभएका साना–ठूला सबै प्रकारका व्यवसाय, स्वरोजगार प्रतिष्ठान, उद्योग, कलकारखाना, गैरसरकारी संस्था, विद्यालय, अस्पताललगायतलाई समेटेर विस्तृत विवरण सङ्कलन गरिने योजना छ।
तयारीको पूर्वचरणअन्तर्गतका कार्यहरू गत फागुन मसान्तमै सम्पन्न भइसकेका छन्। साथै, देशभर ७७ जिल्ला र थप सात गरी कुल ८४ कार्यालय स्थापना गरिएका छन्, जुन आगामी असार मसान्तसम्म सञ्चालनमा रहनेछन्। यी कार्यालयहरूले गणनाको समन्वय र व्यवस्थापन गर्नेछन्।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनालाई राष्ट्रिय अभियानका रूपमा सफल बनाउन सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको जनाएको छ। सही र विश्वसनीय तथ्याङ्कले मुलुकको नीति निर्माण, योजना तर्जुमा र आर्थिक विकासका रणनीतिमा महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास गरिएको छ।
यसअघि २०७५ सालमा गरिएको आर्थिक गणनामा देशभर करिब नौ लाख २३ हजारभन्दा बढी प्रतिष्ठान सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो। नयाँ गणनाले पछिल्लो समयको आर्थिक गतिविधिको अद्यावधिक चित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।


















