Dhulikhel Eco Banner new

अमेरिका–इरान वार्ता निष्कर्षविहीन, आणविक मुद्दामा सहमति जुटेन

793
shares

इस्लामाबाद — संयुक्त राज्य अमेरिका र इरानबीच इस्लामाबादमा सम्पन्न उच्चस्तरीय वार्ता कुनै ठोस निष्कर्ष बिना टुंगिएको छ। लामो समयसम्म चलेको वार्तापछि पनि दुवै पक्षबीच सहमति नजुटेको अमेरिकी पक्षले जनाएको छ।

शनिबार दिउँसोदेखि सुरु भई आइतबार बिहान करिब ५ बजेसम्म जारी वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता अपेक्षित परिणाममा पुग्न नसकेको बताएका छन्। “दुःखको कुरा, हामी अहिलेसम्म कुनै सम्झौतामा पुग्न सकेका छैनौं,” उनले भने।

वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भान्सले इरानले अमेरिकी प्रस्ताव अस्वीकार गरेको उल्लेख गरे। उनका अनुसार वासिङ्टनले अघि सारेका सर्तहरूमा तेहरान सकारात्मक देखिएन। “उनीहरू हाम्रो प्रस्ताव स्वीकार गर्न तयार देखिएनन्,” उनले स्पष्ट पारे।

भान्सले वार्ताका सबै सर्त सार्वजनिक नगरे पनि मुख्य विवादको विषय इरानको आणविक कार्यक्रम रहेको संकेत दिएका छन्। उनले इरानबाट स्पष्ट प्रतिबद्धता आवश्यक रहेको बताउँदै भने, “हामीलाई यस्तो सुनिश्चितता चाहिन्छ कि इरानले परमाणु हतियार वा त्यससम्बन्धी प्रविधि विकास गर्ने छैन।”

अमेरिकाले लामो समयदेखि इरानको आणविक गतिविधिलाई लिएर कडा अडान लिँदै आएको छ। पछिल्लो वार्तामा पनि यही विषय केन्द्रमा रहेकाले सहमति जुट्न नसकेको विश्लेषण गरिएको छ।

पत्रकार सम्मेलनपछि आगामी कूटनीतिक रणनीति वा सम्भावित पहलका विषयमा भने अमेरिकी पक्ष मौन देखिएको छ। विशेषगरी हर्मुज जलडमरूमध्यको सुरक्षा अवस्था तथा सम्भावित द्वन्द्वबारे उठेका प्रश्नहरूमा कुनै स्पष्ट प्रतिक्रिया दिइएन।

यसैबीच, The New York Timesले वार्ताबाट तत्काल समाधान ननिस्किँदा हाल कायम अस्थायी युद्धविरामको भविष्य अनिश्चित बनेको उल्लेख गरेको छ। वार्ता निष्कर्षविहीन रहँदा मध्यपूर्व क्षेत्रमा पुनः तनाव बढ्ने संकेत देखिएको विश्लेषण गरिएको छ।