चैत मसान्तसम्म राजस्व ८.९१ खर्ब संकलन, लक्ष्यको ८४ प्रतिशत पूरा
वि.सं.२०८३ वैशाख १ मंगलवार १३:२४
shares

काठमाडौं, १ वैशाख । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा ८ खर्ब ९१ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार चैत मसान्तसम्मको यो संकलन वार्षिक लक्ष्यको ८४.११ प्रतिशत हो।
सरकारले यस आर्थिक वर्षमा कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ भने चैत मसान्तसम्म १० खर्ब ६० अर्ब ३ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य तय गरिएको थियो।
चैत महिनामा मात्रै १ खर्ब ३९ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन मासिक लक्ष्यको ९३.२४ प्रतिशत हो। मन्त्रालयका अनुसार चैत ३० गते एकै दिन १८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा ६ प्रतिशत वृद्धि भएको छ। गत वर्ष चैत मसान्तसम्म ८ खर्ब ४१ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
विभागगत विवरणअनुसार भन्सार विभागमार्फत ३ खर्ब ६६ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ६२.६६ प्रतिशत हो।
त्यस्तै, आन्तरिक राजस्व विभागमार्फत ४ खर्ब ७० अर्ब ७ करोड रुपैयाँ सङ्कलन भएको छ, जुन वार्षिक लक्ष्यको ५८.३२ प्रतिशत हो।
गैरकर राजस्वतर्फ ५४ अर्ब ७१ करोड रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।


















