Dhulikhel Eco Banner new

खल्ती बाइ आइएमई मार्फत अब विदेशी भुक्तानी सिधै वालेटमा

949
shares

काठमाडौं, ८ वैशाख । नेपाली फ्रिल्यान्सर तथा डिजिटल सेवा प्रदायकहरूले अब विदेशबाट आउने भुक्तानी सोझै मोबाइल वालेटमार्फत प्राप्त गर्न सक्ने भएका छन्। खल्ती बाइ आइएमईले आइएमई लिमिटेड र स्ट्रिपसँग साझेदारी गर्दै यस्तो सुविधा सुरु गरेको हो।

कम्पनीका अनुसार अब नेपाली प्रयोगकर्ताले विदेशमा प्रदान गरेको सेवाको भुक्तानी खल्ती एपमार्फत ‘भुक्तानी अनुरोध’ पठाएर सहजै लिन सक्नेछन्। अन्तर्राष्ट्रिय कम्पनी तथा भुक्तानी प्रदायकहरूले स्ट्राइप गेटवे प्रयोग गर्दै एसीएच, सेपा, भिसा, मास्टरकार्ड, एप्पल पे, गुगल पे तथा ई–बैंकिङजस्ता माध्यमबाट रकम सिधै खल्ती वालेटमा पठाउन सक्ने व्यवस्था गरिएको छ। प्राप्त रकम प्रयोगकर्ताको वालेटमा तुरुन्तै जम्मा हुने भएकाले भुक्तानीका लागि लामो समय कुर्नुपर्ने झन्झट हट्ने बताइएको छ।

यस सहकार्यमार्फत तयार गरिएको भुक्तानी संरचनाले अन्तरदेशीय कारोबारलाई सुरक्षित, भरपर्दो तथा नियामक मापदण्डअनुसार बनाउने कम्पनीको दाबी छ।

कम्पनीले यो पहलले नेपालमा डिजिटल सेवामा संलग्न जनशक्तिले लामो समयदेखि भोग्दै आएको अन्तर्राष्ट्रिय भुक्तानी संकलनको समस्या समाधान गर्न सहयोग पुग्ने जनाएको छ। साथै, यसले नेपालको डिजिटल अर्थतन्त्र विस्तारमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रवीण रेग्मी का अनुसार यस साझेदारीले नेपाली उद्यमी र डिजिटल ट्यालेन्टहरूलाई विश्वव्यापी बजारबाट आम्दानी गरेर सो रकम छिटो र सहज रूपमा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ। उनले यसलाई नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण उपलब्धि तथा स्वदेशी डिजिटल वालेटमार्फत अन्तरदेशीय कारोबारलाई अझ सरल बनाउने कदमका रूपमा उल्लेख गरेका छन्।