Dhulikhel Eco Banner new

डेपुटी गभर्नर पण्डितको ३ करोडको जग्गा, २० तोला सुन

1.72K
shares

काठमाडौं, १० वैशाख । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो तथा परिवारको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार पण्डित र उनका परिवारका नाममा विभिन्न स्थानमा जग्गा, बहुमूल्य धातु तथा बैंक मौज्दात रहेको उल्लेख गरिएको छ।

विवरण अनुसार काठमाडौंको टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितका नाममा करिब २ करोड २० लाख रुपैयाँ बराबरको जग्गा रहेको छ। उक्त सम्पत्तिको स्रोत निजी आय, श्रीमतीको आम्दानी तथा बैंक ऋण रहेको जनाइएको छ।

यसैगरी काठमाडौंकै तारकेश्वरमा श्रीमतीकै नाममा ६९ लाख रुपैयाँ बराबरको अर्को जग्गा रहेको छ भने कैलालीको धनगढीमा पण्डितकै नाममा १० लाख रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।

पारिवारिक सम्पत्तितर्फ उनका बुबा केशरीराज पण्डितका नाममा तनहुँको दमौलीमा ११ रोपनी जग्गा तथा आमाको नाममा काठमाडौंमा ६ रोपनी जग्गा रहेको छ। साथै आमाकै नाममा काठमाडौंको सामाखुशी क्षेत्रमा साढे दुई तले घर रहेको र उक्त सम्पत्ति पैतृक स्रोतबाट प्राप्त भएको जनाइएको छ।

व्यक्तिगत सम्पत्तिको रूपमा पण्डितले २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा रहेको खुलाएका छन्। यी सम्पत्तिको स्रोत विवाह, पास्नी तथा निजी आर्जन रहेको विवरणमा उल्लेख छ।

त्यस्तै नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष तथा विभिन्न बैंकहरूमा गरी उनको २ करोड रुपैयाँभन्दा बढी बचत रहेको छ। साथै विभिन्न कम्पनीहरूमा ७ सयभन्दा बढी कित्ता शेयर लगानी रहेको पनि सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ।

सरकारले उनलाई गत चैत २४ गते नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त गरेको थियो।