Dhulikhel Eco Banner new

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला, सर्वसाधारणलाई १७ लाख ४३ हजार कित्ता

988
shares

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा आम लगानीकर्तालाई शेयर बिक्रीमा ल्याएको हो। ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यसहित कम्पनीले सर्वसाधारणलाई आकर्षित गर्न आईपीओ निष्काशन गरेको जनाएको छ।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये ७ लाख कित्ता स्थानीय बासिन्दा र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट भइसकेको छ। साथै, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र ४२ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको शेयर पनि वितरण भइसकेको छ।

अब कम्पनीले सर्वसाधारणका लागि १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन छिटोमा बैशाख २२ गतेसम्म खुला रहनेछ भने माग अनुसार ढिलोमा बैशाख ३० गतेसम्म जारी रहन सक्नेछ।

आईपीओ निष्काशनका लागि कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। लगानीकर्ताले निर्णय गर्दा यस पक्षलाई ध्यानमा राख्नुपर्ने देखिन्छ।