ओस्लोको बास्केटबल प्रतियोगितामा नेपालय टोली विजयी
वि.सं.२०८३ वैशाख २३ बुधवार १४:३२
shares

ओस्लो । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्वेद्वारा आयोजित तेस्रो बास्केटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाको वार्षिक कार्यतालिका अनुसार आयोजना गरिएको उक्त प्रतियोगिता ओस्लोस्थित ग्रेन्सेभियन ६० मा रहेको बास्केटबल हलमा बिहान १० बजेदेखि सञ्चालन गरिएको थियो। कार्यक्रमको उद्घाटन गैरआवासीय नेपाली संघ नर्वेका अध्यक्ष श्रद्धासिंह थापा र नेपोसका अध्यक्ष प्रेम परियारले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए।

राष्ट्रिय धुन बजाएर सुरु गरिएको प्रतियोगितामा स्वर्गीय चन्द्र गिरीको स्मृतिमा एक मिनेट मौनधारण गरेपछि औपचारिक खेल सुरु गरिएको थियो। प्रतियोगितामा आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो।
प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालय टोलीले नॉर्डिक गोर्खा टोलीलाई फाइनलमा पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ। विजेता टोलीले नगद पुरस्कार, शील्ड, पदक तथा प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको नॉर्डिक गोर्खा टोलीले नगद, पदक र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा नॉर्डिक गोर्खा टोलीका अरुण घिमिरे उत्कृष्ट खेलाडी घोषित भएका छन् भने सोही टोलीका हाराल्ड सिद्धार्थ हिले उदयमान खेलाडी घोषित भएका छन्।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा आयोजक समितिका पदाधिकारीहरूको उपस्थितिमा विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरिएको थियो। प्रमुख अतिथि श्रद्धासिंह थापाले स्वर्गीय चन्द्र गिरीको स्मरण गर्दै आयोजक र सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रमका क्रममा आयोजक समितिले उपलब्ध गराएको नेपाली परिकारको समेत सहभागीहरूले प्रशंसा गरेका थिए। फाइनल खेल अत्यन्त रोमाञ्चक बनेको थियो, जसले दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको आयोजकले जनाएको छ।
















