इभी मोटर क्षमता विवादमा स्पष्ट मापदण्ड बनाउन नाइमाको आग्रह
वि.सं.२०८३ जेठ ३ आइतवार १०:०७
shares

काठमाडौं, ३ जेठ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति ध्यानाकर्षण भएको जनाएको छ।
नाइमाले आइतबार जारी गरेको धारणा पत्रमा इभी मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्यांकनका विषयमा स्पष्ट, व्यवहारिक र एकरूप व्यवस्था आवश्यक रहेको उल्लेख गरेको छ। यस विषयलाई नाइमाले यसअघि अर्थमन्त्री, उद्योगमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँगको छलफलमा समेत उठाएको जनाएको छ।
संस्थाका अनुसार नेपालमा आयात भइरहेका इभीहरू अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएका छन्। एउटै मोडलका सवारी साधन विभिन्न देश र बजारअनुसार फरक प्राविधिक स्पेसिफिकेसनमा उत्पादन हुनु अन्तर्राष्ट्रिय अभ्यास भएको भन्दै केवल वेबसाइट वा बाह्य जानकारीका आधारमा मोटर क्षमता सम्बन्धी निष्कर्ष निकाल्नु प्राविधिक रूपमा विश्वसनीय नहुने नाइमाले जनाएको छ।
नाइमाले हाल नेपालमा इभी मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली तथा एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआएको उल्लेख गरेको छ। यही अस्पष्टताले विभिन्न तहमा भ्रम, अन्योल तथा फरक–फरक व्याख्या उत्पन्न गरिरहेको संस्थाको भनाइ छ।
इभी सवारी साधनको प्राविधिक मूल्यांकन आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित प्राविधिक मापदण्डका आधारमा गरिनुपर्ने नाइमाको धारणा छ। साथै सम्बन्धित सरकारी निकायबीच एकरूप व्याख्या तथा कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गर्नुपर्नेमा संस्थाले जोड दिएको छ।
नाइमाले विद्युतीय सवारी साधनलाई नेपालको स्वच्छ ऊर्जा उपयोग, दिगो यातायात प्रणाली विकास तथा हरित अर्थतन्त्र प्रवर्द्धनको महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरेको छ। इभी क्षेत्रको विस्तारले स्वदेशी स्वच्छ ऊर्जाको उपयोग बढाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने तथा दीर्घकालीन दिगोपनामा सकारात्मक योगदान पुर्याउने संस्थाको भनाइ छ।
अपुष्ट सूचना तथा फरक–फरक व्याख्याले बजारमा अनावश्यक अन्योल सिर्जना गर्नुका साथै उपभोक्ता विश्वास, लगानीको वातावरण तथा इभी क्षेत्रको दीर्घकालीन विकास प्रक्रियामा असर पार्न सक्ने चेतावनी दिँदै नाइमाले सरकार तथा सम्बन्धित निकायसँग सहकार्यलाई निरन्तर सुदृढ गर्दै स्पष्ट र पारदर्शी प्राविधिक प्रणाली विकासका लागि रचनात्मक भूमिका निर्वाह गरिरहने प्रतिबद्धता जनाएको छ।
















