ग्राहकको रकम हिनामिना गर्ने इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी कारागार चलान
वि.सं.२०८३ जेठ ३ आइतवार १७:३३
shares

काठमाडौं, ३ जेठ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तौलिहवा शाखाका कर्मचारी रिसभ कार्की कारागार चलान भएका छन् । ग्राहकको खातामा रहेको रकम अनधिकृत रूपमा आफ्नो खातामा सारेर हिनामिना गरेको आरोपमा पक्राउ परेका कार्की धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका हुन्।
उच्च अदालत तुलसीपुर को बुटवल इजलासले बिहीबार कार्कीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीशद्वय रमेश ढकाल र चन्द्रमणि ज्ञवाली को संयुक्त इजलासले उक्त आदेश गरेको हो।
अनुसन्धानका क्रममा कार्कीले मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर हुँदा ग्राहकलाई सूचना नजाने व्यवस्था मिलाएर कनेक्ट आईपीएस प्रयोग गरी विभिन्न खाताबाट करिब १ करोड ६५ लाख रुपैयाँ आफ्नो खातामा सारेको खुलेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय पकडी को टोलीले उनलाई चैतको पहिलो साता पक्राउ गरेको थियो। पक्राउपछि प्रहरीले बैंकिङ कारोबार, डिजिटल ट्रान्सफर विवरण तथा सम्बन्धित खाताको अध्ययन गर्दै लामो समय अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार करिब डेढ महिनाको अनुसन्धानपछि बैंकिङ कसुर तथा आपराधिक विश्वासघातसम्बन्धी अभियोगमा कार्कीविरुद्ध मुद्दा अघि बढाइएको छ।
















