‘नोभा’ ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता लिन विभागको निर्देशन
वि.सं.२०८३ जेठ ३ आइतवार १६:३४
shares

काठमाडौं, ३ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरास्थित फिस्टेल डेरी प्रालि द्वारा उत्पादन गरिएको ‘नोभा’ ब्रान्डको आइसक्रिम खान अयोग्य रहेको भन्दै तत्काल बजारबाट फिर्ता लिन निर्देशन दिएको छ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार उक्त निर्देशन जारी गरेको जनाएको छ। बजार अनुगमनका क्रममा संकलन गरिएको आइसक्रिमको नमुना प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन भेटिएको विभागले जानकारी दिएको हो।
विभागका अनुसार परीक्षणका क्रममा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट तथा इन्टेरोब्याक्टेरिएसी काउन्ट जस्ता हानिकारक जीवाणु मापदण्डभन्दा बढी मात्रामा फेला परेको थियो।
पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरी प्रालिबाट उत्पादन गरिएको ‘नोभा’ ब्रान्डको ब्याच नम्बर ‘सीओ२’ रहेको १ हजार मिलिलिटरको आइसक्रिम तत्काल बजारबाट फिर्ता गर्न तथा त्यसको बिक्री वितरणमा रोक लगाउन विभागले निर्देशन दिएको छ।
विभागले उपभोक्तालाई पनि उक्त ब्याचको आइसक्रिम प्रयोग नगर्न आग्रह गरेको छ । साथै, बजारमा यस्ता गुणस्तरहीन खाद्य वस्तुको निगरानीलाई थप कडाइ गरिने जनाएको छ।
















