आईपीओ अनुमति लिनेमा जलविद्युत् कम्पनीकै दबदबा, बोर्डमा अझै ९८ कम्पनीको लाइन
वि.सं.२०८३ जेठ ४ सोमवार ०६:५५
shares

नेपाल धितोपत्र बोर्ड ले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) निष्काशनका लागि अनुमति दिएको छ । बोर्डका अनुसार ती कम्पनीले कुल नौ करोड ११ लाख ८७ हजारभन्दा बढी कित्ता शेयर बिक्री गर्न स्वीकृति पाएका छन्, जसको कुल मूल्य करिब नौ अर्ब रुपैयाँ बराबर रहेको छ ।
अनुमति पाउने कम्पनीमध्ये सबैभन्दा धेरै जलविद्युत् क्षेत्रका रहेका छन् । बोर्डको तथ्यांकअनुसार २४ मध्ये १५ कम्पनी जलविद्युत् आयोजनासँग सम्बन्धित छन् । त्यसबाहेक उत्पादन तथा प्रशोधन क्षेत्रका सात, विकास बैंकतर्फ एक र होटल तथा पर्यटन क्षेत्रको एक कम्पनीले आईपीओ निष्काशन अनुमति पाएका छन् ।
नेपालको पुँजी बजारमा जलविद्युत् कम्पनीको प्रभाव निरन्तर बढिरहेको देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज मा हाल १०३ जलविद्युत् कम्पनी सूचीकृत छन् । आईपीओ अनुमति पाउने र अनुमति प्रतिक्षामा रहेका कम्पनीको संख्या हेर्दा पनि ऊर्जा क्षेत्रकै वर्चस्व देखिएको छ ।
बोर्डमा हाल ९८ कम्पनीले आईपीओ निष्काशन अनुमति माग्दै आवेदन दिएका छन् । आवेदन दिनेमा होटल तथा पर्यटन क्षेत्रका १८, जलविद्युत्का ३२, उत्पादन तथा प्रशोधनका २६ तथा लगानी कम्पनी पाँच रहेका छन् । त्यसबाहेक माइक्रो इन्स्योरेन्स र अन्य समूहका कम्पनी पनि अनुमतिको प्रतिक्षामा छन् ।
















