अन्तर बैंक कारोबार नौ महिनामा ८ खर्ब ९२ अर्ब
वि.सं.२०८३ जेठ ३ आइतवार १५:५४
shares

काठमाडौं, ३ जेठ । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो नौ महिना (चैतसम्म) मा बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तर बैंक कारोबारमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल ८ खर्ब ९२ अर्ब २१ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १५ खर्ब १२ अर्ब १२ करोड रुपैयाँ रहेको थियो। यस आधारमा अन्तर बैंक कारोबार करिब ६ खर्ब २० अर्ब रुपैयाँले घटेको देखिन्छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरूबीच मात्रै ७ खर्ब ४९ अर्ब १ करोड रुपैयाँको कारोबार भएको छ। यस्तै, वाणिज्य बैंकबाहेक अन्य वित्तीय संस्थाहरूबीच १ खर्ब ४३ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरूबीच १३ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँ तथा अन्य वित्तीय संस्थाहरूबीच १ खर्ब ४८ अर्ब ३१ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो।
बैंकिङ प्रणालीमा अधिक तरलता, कर्जा विस्तारमा सुस्तता तथा लगानीको माग कमजोर बनेका कारण अन्तर बैंक कारोबार घटेको विश्लेषण गरिएको छ।
















