Dhulikhel Eco Banner new

चालु आवको १० महिनामा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता

4.28K
shares

काठमाडौं, ३ जेठ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा ४५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म ७ सय २८ वटा परियोजनामार्फत कुल ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो।

गत चैतसम्म ६ सय १५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो। वैशाख महिनामा मात्रै थप ११३ परियोजनामार्फत ३ अर्ब ५२ करोड ३० लाख रुपैयाँ लगानी प्रतिबद्धता भित्रिएको विभागले जनाएको छ।

क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिमूलक उद्योगमा आएको छ। १६ कृषिमूलक परियोजनामा २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ।

त्यसैगरी, पर्यटन क्षेत्रका १८९ परियोजनामा १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। सेवामूलक क्षेत्रका ५५ परियोजनामा ४ अर्ब २३ करोड २४ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ।

उत्पादनमूलक ४२ परियोजनामार्फत २ अर्ब ७० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने पूर्वाधार क्षेत्रको एक परियोजनामा १ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। सूचना प्रविधि क्षेत्रमा भने सबैभन्दा धेरै ४ सय २१ परियोजना दर्ता भएका छन्। यी परियोजनामार्फत १ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

ऊर्जा क्षेत्रका दुई परियोजनामा २३ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने सबैभन्दा कम खनिजमूलक दुई परियोजनामा ११ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको तथ्यांकमा उल्लेख छ। उद्योग विभागका अनुसार पछिल्लो समय नेपालमा कृषि, पर्यटन तथा सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिएको छ।