Dhulikhel Eco Banner new

बैशाखमा घरजग्गा कारोबार बढ्यो, सरकारको राजस्व संकलनमा पनि सुधार

2.3K
shares

नयाँ वर्ष २०८३ को पहिलो महिनामै देशभर घरजग्गा कारोबारमा सुधार देखिएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार बैशाख महिनामा देशभर ५८ हजार ८ सय ८६ वटा घरजग्गा किनबेच भएका छन् । यो संख्या अघिल्लो महिना चैतको तुलनामा करिब ६ प्रतिशतले बढी हो ।

गत वर्षको यही अवधिसँग तुलना गर्दा पनि कारोबार उल्लेख्य रूपमा बढेको देखिएको छ । विभागको तथ्यांकअनुसार गत वर्ष बैशाखमा ५२ हजारभन्दा केही बढी कारोबार भएको थियो । यसपटक भने बजारमा चलायमानता बढेको संकेत देखिएको छ ।

घरजग्गा कारोबार बढेसँगै सरकारको राजस्व संकलनमा पनि सुधार आएको छ । बैशाख महिनामा मात्रै घरजग्गा कारोबारबाट ६ अर्ब २६ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको विभागले जनाएको छ । सेवा कर, रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकरमार्फत सरकारले उल्लेख्य आम्दानी गरेको हो ।

बैंक ब्याजदर घट्दै जानु, बजारमा तरलता सहज हुनु र लगानीकर्ताको चासो पुनः घरजग्गातर्फ फर्किन थालेपछि कारोबारमा सुधार देखिएको विश्लेषण गरिएको छ ।