Dhulikhel Eco Banner new

कंगोमा इबोला संक्रमण फैलियो, डब्ल्यूएचओद्वारा स्वास्थ्य संकटकाल घोषणा

715
shares

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला संक्रमणलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको छ । हालसम्म २४६ संदिग्ध संक्रमित र ८० जनाको मृत्यु रिपोर्ट भइसकेको डब्ल्यूएचओले जनाएको छ ।

संगठनका अनुसार संक्रमण ‘बुन्डिबुग्यो’ नामक इबोला भाइरस प्रजातिबाट फैलिएको हो । यो भाइरसका लागि हालसम्म कुनै स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध छैन । राजधानी बुनियासहित खानी क्षेत्र आसपासका स्थानमा संक्रमण फैलिन थालेपछि स्वास्थ्य जोखिम बढेको बताइएको छ ।

डब्ल्यूएचओले छिमेकी देश युगान्डामा पनि संक्रमण पुष्टि भइसकेकाले रोग सीमापार फैलिने जोखिम उच्च रहेको चेतावनी दिएको छ । संक्रमण नियन्त्रणका लागि निगरानी बढाउने, संक्रमितलाई तुरुन्त आइसोलेसनमा राख्ने र ‘कन्ट्याक्ट ट्रेसिङ’ तीव्र पार्न कंगो र युगान्डालाई आग्रह गरिएको छ ।

इबोला पहिलोपटक सन् १९७६ मा कंगोमै पत्ता लागेको थियो । शरीरका तरल पदार्थको सम्पर्कबाट फैलिने यो भाइरसले गम्भीर रक्तस्राव, अंग निष्क्रिय हुने समस्या र उच्च मृत्युदर निम्त्याउने गर्छ । डब्ल्यूएचओका अनुसार इबोलाको औसत मृत्युदर करिब ५० प्रतिशतसम्म रहने गरेको छ ।