Dhulikhel Eco Banner new

साउनदेखि चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा चितवनबाट

5.23K
shares

काठमाडौं, २१ असार । जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र लाइसेन्स अब चितवनबाटै लिन सकिने छ ।

कार्यालयले लाइसेन्स वितरणको सम्पूर्ण तयारी गरेपछि साउनको दोस्रो सातादेखि प्रयोगात्मक परीक्षासमेत भरतपुरमै हुने उनको भनाइ छ । प्रयोगात्मक परीक्षाका लागि निजी क्षेत्रबाट ट्रायल सेन्टर लिन लागिएको छ । पौडेलको भनाइमा दुई वटा कम्पनी प्राविधिक छनोटमा परेका छन् ।

यही असार २३ गते ती कम्पनीको आर्थिक प्रस्ताव जिल्ला प्रशासन कार्यालयमा खोलिँदै छ । त्यसपछि सात दिनको आसय र १५ दिनका सम्झौताका लागि सूचना जारी गर्नुपर्ने हुन्छ । उनले भने “यो प्रक्रिया अघि बढ्दै गर्दा हामी अनलाइनमा फाराम खोल्नेछौँ ।” अथवा साउन दोस्रो साताबाट प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । चितवनमा ट्रायल सेन्टर उपलब्ध गराउने भनी छवटा सेन्टरले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गरेका थिए । प्राविधिक प्रस्तावको मूल्याङ्कनमा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरू ड्राइभिङ छनोटमा परेका छन् । थोरै शुल्क लिएर ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गर्ने एउटा ट्रायल सेन्टर आर्थिक मूल्याङ्कनमा छनोटमा पर्ने प्रमुख पौडेलले बताए ।

चितवनबाट सुरूमा क , ख ,र ग वर्गको सवारीसाधनको ट्रायल लिइने उनले जानकारी दिए । क वर्गमा मोटरसाइकल, स्कुटर, मोपेड, ख वर्गमा चार र तीनपाङ्ग्रे साना सवारीसाधन र ग वर्गमा हेभी र मझौला आकारका सवारीसाधन पर्छन् ।

जिल्लाका बासिन्दा अनुमतिपत्रका लागि हेटौंडा, वीरगन्ज, कावासोती, काठमाण्डौं लगायतका ठाउँमा जानु पर्ने बाध्यता रहेको छ । उनको भनाइमा हेटौंडामा जाने ७० प्रतिशत चितवनका हुन् । कावासोतीमा जानेमा आधा यही जिल्लाका छन् । हेटौंडामा सातामा चार सय हाराहारी कार र एक हजार हाराहारी दुई पाङ्ग्रे सवारीका लागि अनुमति पत्र लिनेहरुले परीक्षा दिँदै आएका छन् । उनका अनुसार हेटौंडाको भन्दा केही बढी चितवनमा हुनेछन् ।