नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
वि.सं.२०८३ असार ८ सोमवार १२:०२
shares

काठमाडौं, ८ असार । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ को सूचीमा कायमै राखेको छ ।
विश्वव्यापी रूपमा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको अवस्थाबारे आफ्नो पछिल्लो प्रतिवेदन सार्वजनिक गर्दै एफएटीएफले नेपाललाई सोही सूचीमा निरन्तरता दिएको हो ।
फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकपछि शुक्रबार जारी गरिएको प्रतिवेदनअनुसार नेपाल अझै पनि उच्च निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ को सूचीमै कायम रहेको जनाइको छ । एफएटीएफले नेपालले आफ्नो प्रणालीमा केही सुधार गरेको भन्दै प्रशंसा गरेको छ ।
तर, रणनीतिक कमजोरीहरू पूर्ण रूपमा समाधान गर्न बाँकी रहेको स्पष्ट पारेको छ। विशेषगरी हुण्डी कारोबार नियन्त्रण, उच्च जोखिममा रहेका सहकारी संस्थाहरू र क्यासिनोहरूको कडा सुपरिवेक्षण गर्न एफएटीएफले नेपाललाई गम्भीर ध्यानाकर्षण गराएको छ।
प्रतिवेदनमा फेब्रुअरी २०२५ देखि नेपालले एफएटीएफ र यसको क्षेत्रीय संस्था एसिया–प्रशान्त समूहसँग मिलेर आफ्नो सम्पत्ति शुद्धीकरण तथा आतंकवादी वित्तपोषण विरुद्धको प्रणालीको प्रभावकारिता सुदृढ पार्न उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ ।
त्यसयता नेपालले लक्षित वित्तीय प्रतिबन्धसम्बन्धी आतंकवादी वित्तपोषण र आमविनाशकारी हतियार निर्माणको वित्तपोषणका बाँकी रहेका प्राविधिक अनुपालन कमजोरीहरूलाई सम्बोधन गर्दै आफ्नो प्रणालीमा सुधार गर्न केही महत्त्वपूर्ण कदमहरू चालेको छ।

















