कर्मचारी सञ्चय कोषको प्रशासकमा दरखास्त आह्वान
वि.सं.२०८३ असार ८ सोमवार १३:०५
shares

काठमाडौं, ८ असार । अर्थ मन्त्रालयले रिक्त रहेको कर्मचारी सञ्चय कोषको प्रशासक पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने भएको छ ।
मन्त्रालयले आज असार २२ गते सार्वजनिक सूचना जारी गर्दै योग्य तथा इच्छुक नेपाली नागरिकलाई १५ दिन अर्थात् असार २२ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य सिलबन्दी आवेदन दिन भनेको हो ।
कर्मचारी सञ्चय कोष ऐन, २०१९ को दफा ६क. बमोजिम योग्यता तथा अनुभव भएको र अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ४ बमोजिम अयोग्य नरहेकोले आवेदन दिन सक्ने छन्।
मन्त्रालयका अनुसार दरखास्त साथ अर्थ मन्त्रालयको http://www.mof.gov.np मा प्रकाशित कर्मचारी सञ्चय कोषको प्रशासकको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०५३ को दफा ३ बमोजिमको कागजात तथा विवरण र स्वयं घोषणा निवेदक स्वयंले प्रमाणित गरी पेश गर्नुपर्नेछ ।
दरखास्त पेस गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा उपर्युक्त कार्यविधिको दफा ५ बमोजिमको व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेश गर्नुपर्नेछ ।
खामबन्दी प्रस्तावको खाम बाहिर “कर्मचारी सञ्चय कोषको प्रशासकका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना” उल्लेख गरेको हुनुपर्नेछ । छनोट सूचीमा परेका उम्मेदवारले आफूले पेस गरेको व्यावसायिक कार्ययोजना तोकिएको मिति र समयमा प्रस्तुतीकरण समेत गर्नुपर्नेछ ।
सरकारले अध्यादेश ल्याएर यस अघि कोषको प्रशासक रहेका जितेन्द्र धिताललाई पदमुक्त गरेको थियो। त्यसपछि कोषको प्रशासक पद रिक्त रहेको छ।

















