कर्णाली डेभलपमेन्ट बैंकले ४७ करोड १४ लाख निक्षेप फिर्ता गर्यो — कर्जा असुलीका आधारमा भुक्तानी जारी
व्यवस्थापन समूहले निक्षेप अपचलनमा संलग्नविरुद्ध कानुनी कारबाही अघि बढाउँदै
वि.सं.२०८३ जेठ २५ सोमवार ०८:५९
shares

नेपालगञ्ज — नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले हालसम्म बचतकर्ताको रु.४७ करोड १४ लाख निक्षेप फिर्ता भुक्तानी गरेको जनाएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले प्रेस विज्ञप्तिमार्फत यो जानकारी दिएको हो।
व्यवस्थापन समूहले कर्जा असुलीका आधारमा निक्षेप भुक्तानी तथा संस्थाको सुदृढीकरण प्रक्रिया क्रमशः अगाडि बढिरहेको उल्लेख गर्दै निक्षेप अपचलनमा संलग्न व्यक्तिहरूविरुद्ध कानुनी कारबाही प्रक्रिया पनि अघि बढाइएको जनाएको छ।
नेपाल राष्ट्र बैंक सञ्चालक समितिको २०८१ पुस १० गतेको निर्णयअनुसार बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिइएको थियो। त्यसयता बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक खतिवडाको नेतृत्वमा व्यवस्थापन समूहले बैंकको सञ्चालन गर्दै आएको छ।
पछिल्ला केही दिनयता बैंक तथा व्यवस्थापन समूहलाई लक्षित गरी भइरहेका अवाञ्छित गतिविधिप्रति व्यवस्थापन समूहले गम्भीर ध्यान दिएको छ। जेठ २२ गते दाङको तुलसीपुर शाखामा केही बचतकर्ताले कर्मचारीलाई भौतिक कारबाही गर्ने तथा तालाबन्दी गर्ने धम्की दिएको जनाइएको छ।
बेलाबेलामा बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गर्दै बैंकको केन्द्रीय कार्यालयदेखि शाखा कार्यालयसम्म घेराउ, नाराबाजी, तालाबन्दी तथा विरोध प्रदर्शन गर्दै आएका छन्। यस्ता गतिविधिले बैंकको सुधार प्रक्रियामा थप अवरोध सिर्जना गर्न सक्ने भएकाले नकारात्मक गतिविधिमा संलग्न नहुन सरोकारवालालाई अनुरोध गरिएको छ।
















