कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
वि.सं.२०८३ असार ९ मंगलवार १४:२५
shares

काठमाडौं, ९ असार । आफूले उत्पादन गरेको प्राङ्गारिक (अर्गानिक) कफीको माग अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्न थालेपछि भोजपुरको षडानन्द नगरपालिकाका कृषक जीवन थापा निकै उत्साहित देखिन्छन्। परम्परागत खेतीपाती छाडेर नगदेबालीका रूपमा कफीखेतीबाट राम्रो आम्दानी हुने देखेपछि उनी केही वर्षयता यसको व्यावसायिक खेतीमा लागेका हुन्।
थापाले ६५ रोपनी क्षेत्रफलमा कफीखेती विस्तार गरेका छन्। उनले उत्पादन गरेको कफीको बजारका लागि कुनै समस्या छैन र यो स्वदेशी बजारमा मात्र नभई विदेशमा समेत निर्यात हुन थालेको छ। उनी अहिलेसम्म करिब एक हजार केजी कफी विदेश निर्यात गरिसकेको बताउँछन्।
हाल उनी आफ्नै प्रशोधन उद्योगमार्फत कफीको मूल्यवर्द्धन गरिरहेका छन्। ‘कच्चा दाना मात्र बेच्नुभन्दा प्रशोधन गरेर बेच्दा मूल्य दोब्बर हुन्छ,’ उनी भन्छन्। थापाजस्तै अन्य किसान पनि कफीखेतीतर्फ आकर्षित भएका छन्। स्थानीय कृषक प्रितमकुमार राई कफीखेतीलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा लिनुपर्ने बताउँछन्। ‘एकपटक रोपेको कफीले वर्षौँसम्म उत्पादन दिन्छ, त्यसैले यो टिकाउ खेती हो,’ उनी भन्छन्।
अर्की स्थानीय सङ्गीता राईले नगरपालिकाबाट बिरुवा, मल र उपकरण पाएपछि काम गर्न निकै सजिलो भएको र यसमा महिलाहरूको सक्रिय सहभागिताले महिला सशक्तीकरणमा समेत योगदान पुर्याएको बताइन्। वैदेशिक रोजगारीबाट फर्किएका स्थानीय कृषक मुक्ति राई पनि विदेश जानुभन्दा गाउँमै मिहिनेत गर्दा कफीबाट राम्रो आम्दानी लिन सकिने अनुभव सुनाउँछन्।
गरिबी न्यूनीकरण र कृषिको व्यवसायीकरणलाई लक्ष्य बनाउँदै षडानन्द नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ मा करिब ३ करोड रुपैयाँको लगानीमा प्राङ्गारिक कफीखेती विस्तार तथा व्यवसायीकरण परियोजना सुरु गरेको छ। कफीलाई आयआर्जन र रोजगारीको मुख्य आधार बनाउने, आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्द्धन गर्ने र स्थानीय उत्पादनको ‘ब्रान्डिङ’ गर्ने लक्ष्यसहित कार्यक्रमलाई प्राथमिकतामा राखिएको हो।
कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले १ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने किसानको लागत साझेदारीसमेत समावेश गर्दा परियोजनाको कुल आकार २ करोड ८९ लाख रुपैयाँ पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद दाहालले जानकारी दिए। सार्वजनिक(निजी साझेदारीको यो अभ्यासले उत्पादन र बजारबिचको दूरी घटाउने तथा आगामी पाँच वर्षभित्र षडानन्दलाई ‘कफी हब’ का रूपमा विकास गर्ने नगरपालिकाको योजना छ। पहाडी भूभाग, मध्यम तापक्रम र उपयुक्त वर्षाले कफीका लागि अनुकूल वातावरण प्रदान गरेको छ।
परियोजनाअन्तर्गत पहिलो चरणमा १५७ जना किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने कृषि शाखा प्रमुख शिला पुन मगरले जानकारी दिइन्। उनीहरूका लागि ७५ हजार वटा कफी बिरुवा, खेत जोत्नका लागि ५ एचपी क्षमताका ११३ वटा र ७ एचपी क्षमताका ५० वटा मिनीटिलर उपलब्ध गराइनेछ। साथै २० वटा ब्रस कटर, २५७ वटा स्प्रेयर र १६ वटा सिकेचर वितरण गरिनेछ। खेतीलाई पूर्ण रूपमा प्राङ्गारिक बनाउन २२ हजार ६२० केजी गोठेमल, २१ हजार ३६० केजी हड्डी मल, ८६ लिटर खनिज तेल, १०० लिटर बोर्डो पेस्ट र ३३ लिटर इएम ९इफेक्टिभ माइक्रोअर्गानिज्म० समेत उपलब्ध गराइनेछ।
कृषि क्षेत्रको व्यवसायीकरण र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणका लागि यो कार्यक्रम सञ्चालन गरिएको षडानन्दका नगरप्रमुख सुरेन्द्रकुमार उदास बताउँछन्। ‘हामीले बृहत् रूपमा कफीखेती विस्तार कार्यक्रम सञ्चालन गरेका छौँ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको अध्ययन गर्दा कफीको सम्भावना निकै राम्रो देखिएकाले किसानलाई प्रोत्साहन गर्दै लगानी बढाएका हौँ,’ उनले भने।
नगर उपप्रमुख प्रमिला राईका अनुसार यो कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै टिकाउने आधार तयार गर्नेछ। नगरपालिकाले सामग्री वितरणमा मात्र सीमित नरही बिरुवा रोप्ने विधि, रोग नियन्त्रण र पोस्ट-हार्भेस्ट व्यवस्थापनलगायतका विषयमा क्षमता अभिवृद्धि तालिम समेत सञ्चालन गर्नेछ।
कफीखेतीका लागि समुद्री सतहबाट ८०० मिटरदेखि १ हजार ८०० मिटरसम्मको क्षेत्र उपयुक्त मानिन्छ र षडानन्दका १४ वडामध्ये १३ वटा वडामा यो खेती विस्तार भइरहेको छ। कफीलाई पर्यटनसँग जोडेर ‘एग्रो-टुरिज्म’ को रूपमा विकास गर्ने सम्भावना समेत रहेको छ। प्राविधिक सेवा, बजार मूल्यको उतारचढाव र जलवायु परिवर्तनजस्ता समस्या समाधान गर्न सके षडानन्द नगरपालिका देशकै प्रमुख कफी उत्पादन केन्द्रका रूपमा स्थापित हुने देखिन्छ।
















