Dhulikhel Eco Banner new

नेपालीले घुमघाममै खर्चिए ४ खर्ब ५९ अर्ब, स्वदेशमै ३ खर्ब ९५ अर्ब

1.47K
shares

काठमाडौं, १९ असार । नेपालीहरूले पर्यटकीय गतिविधिमा गर्ने खर्चको आकार निकै ठूलो देखिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षणले पर्यटकीय गतिविधिमा नेपाली घरपरिवारको वार्षिक खर्च ४ खर्ब ५९ अर्ब रूपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ । नेपालीले आन्तरिक पर्यटनमा मात्रै ३ खर्ब ९५ अर्ब ४२ करोड रूपैयाँ खर्च गर्ने गरेका छन्।

सर्वेक्षणका अनुसार आन्तरिक भ्रमणमध्ये रात बिताउने गरी गरिएका यात्रामा सबैभन्दा बढी ३ खर्ब ४ अर्ब ४४ करोड रूपैयाँ खर्च भएको हो। बिहान गएर बेलुका नै फर्कने गरी गरिएका आन्तरिक भ्रमणहरूमा भने ९० अर्ब ९८ करोड रूपैयाँ खर्च भएको छ। मुलुकको कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक पर्यटनको योगदान २.६५ प्रतिशत रहेको अनुमान गरिएको छ। नेपालीहरूले विदेश भ्रमणमा वर्षभरिमा कुल ६३ अर्ब ६४ करोड रूपैयाँ खर्च गरेका छन्।

सर्वेक्षण प्रतिवेदअनुसार नेपालका कुल घरपरिवारमध्ये ५२.४ प्रतिशत अर्थात् ३६ लाख २१ हजार घरपरिवारले वर्षमा कम्तीमा एक पटक पर्यटकीय भ्रमण गरेका छन्। एक पर्यटकले वर्षभरिमा औसतमा ४.८१ पटकसम्म विभिन्न स्थानको भ्रमण गर्ने गरेको पाइएको छ। एक पटकको आन्तरिक भ्रमणमा एक जना नेपालीले औसतमा ११ हजार ९२२ रूपैयाँ खर्च गर्ने गरेको पाइएको छ।

स्वास्थ्य उपचारका लागि गरिने भ्रमणमा प्रति भ्रमण औसत खर्च सबैभन्दा बढी २३ हजार ५१६ रूपैयाँ हुने गरेको पाइएको छ। पर्यटकीय खर्चका विभिन्न क्षेत्रमध्ये सबैभन्दा धेरै २६ प्रतिशत हिस्सा किनमेलमा खर्च हुने गरेको छ। पर्यटकीय गतिविधिमा १३ देखि २८ वर्ष उमेर समूहका युवाहरूको हिस्सा सबैभन्दा बढी अर्थात् २६.६ प्रतिशत रहेको छ।

पर्यटकीय भ्रमणमा निस्कँदा ६८.७ प्रतिशत नेपालीले सार्वजनिक सवारी साधनको प्रयोग गर्ने गरेका छन्। अध्ययन वा तालिमका लागि गरिने यात्रामा सबैभन्दा लामो औसत ९.१६ दिन बसाइ हुने गरेको छ। प्रदेशगत भ्रमण बसाइका हिसाबले सुदूरपश्चिम र मधेश प्रदेशमा जाने पर्यटकहरूले सबैभन्दा लामो समय अर्थात् औसत ८.१८ दिन बिताउने गरेका छन्। कुल पर्यटकीय भ्रमणमध्ये ५५ प्रतिशत हिस्सा सहरी क्षेत्रका बासिन्दाले ओगटेका छन्।

रात बिताउने भ्रमणहरूमध्ये सबैभन्दा बढी ६५.५ प्रतिशत साथीभाइ तथा आफन्त भेटघाटका लागि हुने गरेको छ। यस प्रकार साढे ४ खर्बभन्दा बढीको यो खर्चले नेपालीहरूको घुमफिर गर्ने बढ्दो संस्कृति बढेको देखाएको छ।