Dhulikhel Eco Banner new

बाँकेमा १३ करोड ६१ लाख रुपैयाँका सामान बरामद

1.14K
shares

काठमाडौं, ४ साउन । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा १३ करोड ६१ लाख ३१ हजार ६९८ रुपैयाँ बराबरका अवैधरूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा त्यस नाकाबाट बरामद गरिएका सामानमध्ये ११ करोड ७१ लाख ६३ हजार ४६४ रुपैयाँ बराबरका सामग्री भन्सार कार्यालयमा दाखिला गरिएको छ।

यस अवधिमा२२ लाख ४८ हजार रुपैयाँ बराबरको काठ बरामद गरिएको पनि उनले जानकारी दिए। त्यस्तै, ८५ लाख २३ हजार रुपैयाँ मूल्य बराबरका केही सामग्री भने नष्ट गरिएको सशस्त्र प्रहरीको प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी गणले ६० लाख ९६ हजार ६६३ स्रोत रुपैयाँ नखुलेको रकम बरामद गरेको थियो। वन्यजन्तुसम्बन्धी ओखेटोपहार करिब २१ लाख रुपैयाँ बराबर बरामद भएको प्रतिवेदनमा जनाइएको छ। सशस्त्र प्रहरी बलले सामान ओसारपसारमा सङ्लग्न भएका २१ जना पक्राउ गरेको थियो।

पछिल्लो समय लागुऔषध नियन्त्रणतर्फ पनि सशस्त्र प्रहरीले सक्रियता देखाएको छ। गाँजा ३४३ ग्राम, ट्रामाडोल १५ हजार ८७० टयाब्लेट, नाइट्रोभेट तीन हजार ४० टयाब्लेट, ब्राउन सुगर ३६ ९ ग्राम, अफिम ५.५ केजी, चरेश छ ग्राम, खैरो हिरोइन एक ग्रामलगायत बरामद गरिएको छ। यस अवधीमा लागूऔषध सेवन, ओसारपसार तथा कारोबारमा सङ्लग्न २२ जनालाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिएको सूचना अधिकारी विष्टले बताए।

उक्त गणले मानव बेचबिखन नियन्त्रण अभियानअन्तर्गत २३ जना महिलाको उद्धार गरेको जनाएको छ। मानव बेचबिखन सम्बन्धी सूचनाका आधारमा जमुनाह नाकामा गरिएको जाँचका क्रममा उनीहरूको उद्धार गरिएको उपरीक्षक विष्टले बताए। सो प्रकरणमा सङ्लग्न रहेको आरोपमा २१ जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ। पछिल्लो समय जमुनाह नाकामा सशस्त्र प्रहरी बलले अवैध सामान नियन्त्रण, तस्करी रोकथाम तथा सीमा सुरक्षामा अहोरात्र खटिरहेको जनाएको छ।