कर्णालीदेखि मध्यपहाडीसम्म ८ सडक स्तरोन्नति हुँदै, ठेक्का प्रक्रिया सुरु
वि.सं.२०८३ साउन १५ शुक्रवार १४:०७
shares

काठमाडौँ, १५ साउन । सडक डिभिजन कार्यालय सुर्खेतले कर्णाली र मध्यपहाडी राजमार्गसहित प्रदेशका प्रमुख ८ वटा सडक आयोजनाको स्तरोन्नति, मर्मतसम्भार तथा सुरक्षा पूर्वाधार निर्माणका लागि ठेक्का (बोलपत्र) आह्वान गरेको छ ।
डिभिजन कार्यालयले साउन १५ गते एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका निर्माण व्यवसायीहरूबाट ई–बोलपत्र पेस गर्न आग्रह गरेको हो ।
कार्यालयका अनुसार कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला), मध्यपहाडी राजमार्ग, रत्न राजमार्ग, सुर्खेत–दैलेख र छिन्चु–जाजरकोट सडक खण्डका विभिन्न स्थानमा सडक स्तरोन्नति, नाली निर्माण, पहिरो रोकथाम र ट्राफिक सुरक्षाका काम गरिनेछ ।
जसअन्तर्गत कर्णाली राजमार्गको सुर्खेत–जुम्ला खण्डमा पर्ने दैलेखको दर्बारे भीर र बोटखोल भीरमा पहिरो नियन्त्रण तथा भीर व्यवस्थापन (स्लोप स्ट्याबिलिटी) का लागि १ करोड ३२ लाख २१ हजार रुपैयाँभन्दा बढीको अनुमानित लागतमा ठेक्का आह्वान गरिएको छ ।
यस्तै, रत्न राजमार्गको हर्रे–बाँगेसिमल खण्डमा सडक तथा ट्राफिक सुरक्षा सम्बन्धी कामका लागि ६४ लाख ६५ हजार रुपैयाँभन्दा बढी अनुमानित लागतको ठेक्का खोलिएको छ । सोही खण्डमा सोल्डर पेभिङ, साइड ड्रेन र क्रस–ड्रेनेज निर्माणका लागिसमेत छुट्टै प्याकेजमा ठेक्का प्रक्रिया अघि बढाइएको छ ।
मध्यपहाडी राजमार्गको पादुका खोला पुल–सैनगाउँ खण्ड र सुर्खेत–तल्लो ढुङ्गेश्वर–दुल्लु सडक खण्डमा संरचना तथा नाली निर्माण गरी सडक स्तरोन्नति गरिने सडक डिभिजनले जनाएको छ । यसका साथै सुर्खेत–दैलेख, सुर्खेत–जुम्ला र छिन्चु–जाजरकोट सडक खण्डका विभिन्न भागमा सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक ट्राफिक सुरक्षा सम्बन्धी कार्यहरू गरिनेछ ।
इच्छुक निर्माण व्यवसायीले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमार्फत अनलाइन प्रणालीबाट मात्र बोलपत्र पेस गर्न सक्नेछन् ।
















