युवा उद्यमी मञ्चको अध्यक्षमा आभूषण ज्योति कंसाकार निर्वाचित
वि.सं.२०८३ साउन २५ सोमवार ०९:५७
shares

काठमाडौं, २५ साउन । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को अध्यक्षमा आभूषण ज्योति कंसाकार निर्वाचित भएका छन्। मञ्चको २२औँ वार्षिक साधारणसभाले कंसाकारलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।
कंसाकार नेपालको ठूलो ई–कमर्स कम्पनी जीभीका संस्थापक अध्यक्ष तथा देब ज्योति ग्रुपका अध्यक्ष हुन्। देब ज्योति ग्रुपअन्तर्गत विभिन्न क्षेत्रमा ६ वटा कम्पनी सञ्चालनमा रहेका छन्।
साधारणसभाको औपचारिक उद्घाटन सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमा भएको थियो। सभामा संस्थाको वार्षिक प्रगतिको समीक्षा, वैधानिक प्रतिवेदन अनुमोदन तथा आगामी रणनीतिक प्राथमिकताबारे छलफल गरिएको थियो।
साधारणसभाले सन् २०२६/२७ कार्यकालका लागि नयाँ राष्ट्रिय कार्यकारी परिषद्समेत निर्वाचित गरेको छ। नयाँ कार्यसमितिको तत्कालीन पूर्वअध्यक्षमा सुदीप त्रिपाठी, प्रथम उपाध्यक्षमा निर्विता प्रधान र द्वितीय उपाध्यक्षमा कृष्ण सापकोटा चयन भएका छन्।
त्यस्तै, कार्यकारी सदस्यमा पवित्रबहादुर गौतम, रिचा श्रेष्ठ, सविन श्रेष्ठ, बिलाशा श्रेष्ठ, अभिमन्यु गोल्छा, तर्कराज भट्ट, दीपिका उपाध्याय सुवेदी, डा. सोनुकुमार र एल्भिस रञ्जित चयन भएका छन्।
अध्यक्ष कंसाकारसहित नवनिर्वाचित नेतृत्वले आफूहरूमाथि विश्वास गरी जिम्मेवारी प्रदान गरेकोमा सदस्यहरूप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले सदस्यहरूको प्रभावकारी सहभागिता, नवप्रवर्तन, सहकार्य तथा नीतिगत पैरवीमार्फत मञ्चको उद्देश्य र अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्।
सन् २००३ मा स्थापना भएको एनवाईईएफ नेपालका युवा उद्यमीहरूको अग्रणी संस्था हो। देशका सातै प्रदेशमा रहेका १५ वटा च्याप्टरमार्फत मञ्चले १ हजार २०० भन्दा बढी उद्यमीको प्रतिनिधित्व गर्दै आएको छ।
मञ्चले नेतृत्व विकास, नीतिगत पैरवी, व्यावसायिक सञ्जाल विस्तार तथा क्षमता अभिवृद्धिका विभिन्न कार्यक्रम सञ्चालन गर्दै युवा उद्यमीलाई प्रोत्साहन र सशक्तीकरण गर्दै आएको छ।
साधारणसभामा देशभरबाट आएका सदस्य, च्याप्टर प्रतिनिधि, पूर्वअध्यक्ष, विशिष्ट अतिथि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।















