देशभर मनसुन सक्रिय, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
वि.सं.२०८३ साउन २५ सोमवार १०:२७
shares

काठमाडौँ, २५ साउन। हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भूभागका साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ। मधेस प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने आंशिक बदली रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।सोमबार देशभर साधारणतया बादल लाग्ने अनुमान छ। देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी पहाडी र तराई भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै कर्णालीको पहाडी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।















