ग्यास ढुवानीदेखि वितरणसम्म अनलाइन निगरानी गरिँदै
वि.सं.२०८३ साउन २७ बुधवार १३:०८
shares

काठमाडौं, २७ साउन । सरकारले खाना पकाउने एलपी ग्यासको आपूर्ति, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न थालेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समितिको बैठकमा ग्यासको आपूर्ति अवस्थादेखि वितरण र ढुवानीसम्मको विवरण अनलाइनमार्फत निगरानी गर्न सकिने प्रणाली निर्माणको काम अघि बढाइएको जानकारी दिइन्।
उनका अनुसार हाल ग्याससम्बन्धी विवरण सार्वजनिक गर्न गुगल फारमको प्रयोग भइरहेको छ। ग्यासको उपलब्धता र वितरणसम्बन्धी जानकारीलाई थप व्यवस्थित र पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली विकास गर्न लागिएको हो।
सरकारले उपभोक्ताले ग्यासको वास्तविक आपूर्ति अवस्था तथा वितरणबारे जानकारी पाउने गरी प्रणाली विकास गर्न लागेको जनाएको छ। यसबाट ग्यासको ढुवानी तथा वितरणमा हुने अनियमितता र कृत्रिम अभाव नियन्त्रण गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच सरकारले सिंहदरबारमा साउन २८ गतेदेखि खाद्य सामग्री बिक्री वितरणका लागि स्टल सञ्चालन गर्ने भएको छ। मन्त्री गौरीकुमारीले समितिको बैठकमा सिंहदरबार परिसरबाट खाद्यान्न बिक्री गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिइन्।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले भने अबको एक साताभित्र ग्यासको आपूर्ति सहज हुने दाबी गरेका छन्। उनका अनुसार मंगलबार मात्रै १३४ वटा ग्यास बुलेट नेपाल भित्रिएका छन्।
निगमका अनुसार साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर नेपाल भित्रिइसकेका छन्। ग्यासको आयात पर्याप्त रहेकाले आपूर्तिमा देखिएको समस्या छिट्टै समाधान हुने निगमको दाबी छ।
सरकारले ग्यासको वास्तविक माग, आयात, ढुवानी, डिपोमा मौज्दात र उपभोक्तासम्मको वितरणलाई एउटै प्रणालीबाट अनुगमन गर्न सके आपूर्ति व्यवस्थापन थप प्रभावकारी हुने जनाएको छ।















