Dhulikhel Eco Banner new

बुढानीलकण्ठ नगर अस्पतालमा थपिँदै विशेषज्ञ सेवा, ओपीडीदेखि प्रसूति सेवासम्म विस्तार

429
shares

काठमाडौं, २७ साउन । बुढानीलकण्ठ नगर अस्पतालले नगरवासीलाई स्थानीय तहमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा विस्तार गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षदेखि विभिन्न विशेषज्ञ सेवा थप गर्नुका साथै सञ्चालनमा रहेका सेवाको पहुँचसमेत बढाउने अस्पतालको योजना छ।

अस्पतालका अनुसार दन्त सेवा विभाग स्थापना गरी दैनिक सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ। मुटु रोग र स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा हप्तामा दुई दिन तथा चर्मरोग सेवा हप्तामा एक दिन सञ्चालन गर्ने योजना बनाइएको छ। यसअघि हप्तामा एक दिन मात्र सञ्चालन हुँदै आएको बालरोग सेवालाई पनि विस्तार गरी दुई दिन पुर्‍याइनेछ।

अस्पतालको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा तथा भावी कार्ययोजना प्रस्तुत गर्ने क्रममा सेवा विस्तारको योजना सार्वजनिक गरिएको हो। बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको बताए। नगर अस्पताललाई थप प्रभावकारी बनाउँदै नगरवासीलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउनेतर्फ नगरपालिका केन्द्रित रहेको उनले बताए।

नगरपालिकाले नगरवासीका लागि विभिन्न अस्पतालसँगको सहकार्यमा निःशुल्क तथा सहुलियतपूर्ण उपचारको व्यवस्था पनि गर्दै आएको अधिकारीले जानकारी दिए। उनका अनुसार निःशुल्क रगत उपलब्ध गराउने, जलनपीडितका लागि किर्तिपुर अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने, हेम्स अस्पतालमा उपचार खर्चमा १७ प्रतिशत छुट तथा बाँसबारी न्यूरो अस्पतालमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। गंगालाल अस्पतालमा मुटुरोग उपचारका लागि ५० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराउने व्यवस्था पनि रहेको उनले बताए।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद पोखरेलले सेवा विस्तारसँगै अन्य स्वास्थ्य संस्थासँगको समन्वयमा निःशुल्क उपचारको नीतिलाई थप प्रभावकारी बनाउने बताए। अस्पतालले सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई ध्यानमा राखेर उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरिरहेको उनको भनाइ थियो।

अस्पतालले पछिल्लो समय सञ्चालनमा रहेका सेवामा समेत उल्लेख्य विस्तार गरेको छ। दैनिक दुई वटा ओपीडीबाट सेवा दिँदै आएको अस्पतालले हाल तीन वटा ओपीडी सञ्चालन गरिरहेको छ। २०८३ असार १२ गतेदेखि सुरु गरिएको यूएसजी सेवाबाट असार मसान्तसम्म ३४८ जनाले सेवा लिएका छन्।

त्यस्तै, हप्तामा दुई दिन मात्र सञ्चालन हुँदै आएको अर्थोपेडिक सेवा हाल पाँच दिन पुर्‍याइएको छ। २०८२ मंसिर ९ गतेदेखि सुरु गरिएको बर्थिङ सेवाबाट हालसम्म २२ जनालाई सफल प्रसूति सेवा प्रदान गरिएको पोखरेलले जानकारी दिए।

अस्पतालका निर्देशक डा। सुधांशु झाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा अस्पतालबाट कुल ५४ हजार ७३ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। तीमध्ये ४६ हजार ८४८ जनाले ओपीडी, ३ हजार ४१४ जनाले आकस्मिक सेवा, ४ हजार ३०४ जनाले स्वास्थ्य बीमा र ३ हजार ८११ जनाले अन्य सेवा लिएका छन्।

अस्पतालमा सेवाग्राहीको संख्या बढेसँगै उनीहरूको अपेक्षा पनि बढिरहेको डा। झाले बताए। बढ्दो अपेक्षाअनुसार गुणस्तरीय सेवा कायम राख्नु अस्पतालका लागि प्रमुख चुनौती रहेको उल्लेख गर्दै उनले भौतिक पूर्वाधार, दक्ष जनशक्ति र विशेषज्ञ सेवाको विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए।

बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईले नगर अस्पतालले छोटो अवधिमा हासिल गरेको प्रगतिलाई सकारात्मक रूपमा मूल्याङ्कन गर्दै सेवा विस्तारलाई नगरका सबै नागरिकसम्म पुर्‍याउनुपर्ने बताए। अस्पतालको सेवा र प्रभावकारिताबाट जनप्रतिनिधिको कामको समेत मूल्याङ्कन हुने भएकाले जनअपेक्षाअनुसार सेवा प्रवाह गर्न उनले अस्पताल प्रशासनलाई आग्रह गरे।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य डा। कालुसिंह खत्री, वीर अस्पतालका निर्देशक डा। भूपेन्द्र बस्नेतलगायतले नगर अस्पतालको सेवा थप गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक सुधार तथा विस्तारका विषयमा सुझाव दिएका थिए।