तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ३० अर्ब निक्षेप संकलन गर्दै
वि.सं.२०८३ साउन २७ बुधवार ११:३०
shares

काठमाडौं,२७ साउन । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको एकमहिने निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले ३५ दिन अवधिको उक्त उपकरण बोलकबोलमार्फत बिक्री गर्न लागेको हो।
राष्ट्र बैंकको बैंकिङ विभागले साउन २७ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोलकबोल आह्वान गरेको छ। बोलकबोलबाटै उपकरण निष्कासन हुने र यसको ब्याजदर पनि बोलकबोलबाट निर्धारण हुनेछ।
बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको निक्षेप रकम र त्यसमा अपेक्षित ब्याजदर उल्लेख गर्नुपर्नेछ। न्यूनतम १० करोड रुपैयाँदेखि १० करोड रुपैयाँको दरले बोल गर्नुपर्ने व्यवस्था गरिएको छ। आह्वान गरिएको कुल ३० अर्ब रुपैयाँसम्म यस्तो बोल गर्न सकिनेछ।
यस उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले निक्षेप रकम र ब्याजदर दशमलवपछि चार अंकसम्म उल्लेख गर्नुपर्नेछ।
राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई पहिलो प्राथमिकता दिनेछ। त्यसपछि क्रमशः बढी ब्याजदरका बोल स्वीकार गर्दै आह्वान गरिएको रकमसम्म निक्षेप संकलन गरिनेछ।
समान ब्याजदरमा गरिएको बोलबाट स्वीकार गर्नुपर्ने रकम कुल निष्कासित रकमभन्दा बढी भएमा त्यस्ता बोललाई प्रो–राटा आधारमा समानुपातिक रूपमा बाँडफाँट गरिनेछ।बोल स्वीकार गर्ने वा नगर्ने तथा आंशिक वा पूर्ण रूपमा बोल स्वीकार गर्ने अधिकार राष्ट्र बैंकको खुला बजार कारोबार सञ्चालन समितिलाई दिइएको छ।
निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी भदौ ३१ गते हुनेछ। भुक्तानीका दिन सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खातामा तोकिएको ब्याजसहित निक्षेप रकम जम्मा गरिनेछ।
राष्ट्र बैंकका अनुसार यस्तो उपकरणमार्फत संकलन भएको रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। तर राष्ट्र बैंकले तोकेको वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपात कायम गर्दा भने गणना गर्न सकिनेछ।
भुक्तानी मितिभन्दा अगावै संकलित निक्षेप रकम फिर्ता गर्न वा प्रि–म्याचुअर भुक्तानी गर्न नपाइने व्यवस्था गरिएको छ।बैंकिङ प्रणालीमा पछिल्लो समय पर्याप्त तरलता रहेपछि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै अतिरिक्त तरलता प्रशोचन गरिरहेको छ। नयाँ ३० अर्बको निक्षेप संकलन उपकरण पनि प्रणालीमा रहेको अतिरिक्त तरलता खिचेर ब्याजदर तथा तरलता व्यवस्थापन गर्ने उद्देश्यले ल्याइएको हो।















