नाईमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक
वि.सं.२०८३ साउन २७ बुधवार १२:०८
shares

काठमाडौं, २७ साउन । काठमाडौंको भृकुटीमण्डपमा यही भदौ २६ गतेदेखि आयोजना हुने नाईमा अटो एक्स्पोमा हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल कम्पनी डोङफेङद्वारा उत्पादित बसहरू सार्वजनिक गर्ने भएको छ। कम्पनीले हाल दुई मोडलका बस नेपालमा सार्वजनिक गर्न लागेको जनाएको छ।
सन् १९६९ मा स्थापना भएको डोङफेङ मोटर कर्पोरेसन चीनको प्रमुख अटोमोबाइल उत्पादक कम्पनीमध्ये एक हो। कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी तथा विभिन्न अटोमोबाइल पार्टपुर्जा उत्पादन गर्दै आएको छ। डोङफेङका सवारीसाधन विश्वका १०० भन्दा बढी देशमा बिक्री तथा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।
नेपालमा डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू यसअघि नै बिक्री हुँदै आएका छन्। ठूला विद्युतीय बसप्रति नेपालमा बढ्दो माग र सरकारले विद्युतीय सार्वजनिक यातायातलाई प्राथमिकता दिन थालेको अवस्थालाई ध्यानमा राख्दै डोङफेङका बस नेपाल भित्र्याइएको आयाम इन्टरकन्टिनेन्टलले जनाएको छ।
अटो एक्स्पोमा ७।२ मिटरका दुई मोडलका बस सार्वजनिक गरिनेछन्। तीमध्ये एउटा २५ सिट र अर्को २७ सिट क्षमताको रहेको कम्पनीले जनाएको छ। बसको मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँदेखि सुरु हुने बताइएको छ।
नाईमा अटो एक्स्पोमा बुकिङ गर्ने पहिलो ५० जना ग्राहकलाई ५ लाख रुपैयाँ विशेष छुट दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
ग्राहकको आवश्यकता र मागअनुसार बसमा विभिन्न सुविधा थप गर्न सकिने कम्पनीले जनाएको छ। हाल सार्वजनिक गरिएको बसमा एयर कन्डिसनको सुविधा नरहे पनि ग्राहकको मागअनुसार एयर कन्डिसन जडान गरी खरिद गर्न सकिनेछ। त्यस्तै, लक्जरी सिट पनि ग्राहकको मागअनुसार राख्न सकिने व्यवस्था गरिएको छ।
बसमा प्रवेशद्वार पनि ग्राहकको आवश्यकताअनुसार थप गर्न सकिनेछ। दुईवटा प्रवेशद्वार राखिएको अवस्थामा दुईवटा सिट घट्ने कम्पनीले जनाएको छ।
बसमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको छ भने ग्राहकले थप ३ वर्षको एक्स्टेन्डेड वारेन्टीसमेत खरिद गर्न सक्नेछन्।
कम्पनीले निकट भविष्यमा डोङफेङका ८।२ मिटरका स्कुल बस, ९ मिटरका ३८ सिट क्षमताका बस तथा १२ मिटरका ५२ सिट क्षमताका बससमेत नेपाल ल्याउने तयारी गरेको जनाएको छ। ती बसको मूल्य तथा अन्य विवरण भने पछि सार्वजनिक गरिनेछ।
कम्पनीका अनुसार आगामी दिनमा नेपालमा उपलब्ध अन्य ब्रान्डका समान क्षमताका बसको तुलनामा डोङफेङका बसहरू निकै प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने तयारी गरिएको छ। यसले नेपाली बजारमा नयाँ विकल्प थपिने अपेक्षा गरिएको छ।
अटो एक्स्पोमै बुकिङ गर्ने ग्राहकका लागि विशेष छुट तथा अन्य आकर्षक योजना ल्याउने तयारीसमेत गरिएको कम्पनीले जनाएको छ। बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्सका लागि हिमालयन अर्गनाइजेसनअन्तर्गतका कम्पनीका नेपालका विभिन्न सहरमा रहेका शाखा तथा डिलरमार्फत सेवा उपलब्ध गराइने बताइएको छ।















