Dhulikhel Eco Banner new

अनेसास नेपालको चौथो महाधिवेशन सम्पन्न, अध्यक्षमा मञ्जिला अनिल निर्वाचित

715
shares

काठमाडौं,११ भदौ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको चौथो महाधिवेशन हालै सम्पन्न भएको छ। महाधिवेशनले वरिष्ठ साहित्यकार मञ्जिला अनिलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

अध्यक्ष पदका लागि भएको निर्वाचनमा कुल ८५ मत खसेको थियो। अनिलले ६३ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी साहित्यकार निर्मलरमण पराजुलीले २२ मत प्राप्त गरे।

अध्यक्षबाहेक अन्य पदाधिकारी तथा सदस्यहरू भने निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा पत्रकारिता, कानुन तथा साहित्य क्षेत्रमा लामो अनुभव हासिल गरेकी कमला ओली चयन भएकी छन्। ओली सूचना आयोगकी निवर्तमान प्रवक्ता तथा सदस्यसमेत हुन्। उनले यसअघि अनेसास नेपाल च्याप्टरको उपाध्यक्षका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेकी छन्।

त्यस्तै, उपाध्यक्षमा रञ्जना निरौला, महासचिवमा रमेश दाहाल, सचिवमा खेमराज न्यौपाने र कोषाध्यक्षमा कमला रिसाल निर्वाचित भएका छन्।

कार्यसमितिका सदस्यहरूमा साहित्यकारहरू रत्नलक्ष्मी श्रेष्ठ, राधिका गुरागाईं, केवला भट्टराई, देवेन्द्र पराजुली, सुषमा आचार्य, उषा केसी, डीआर राई, शान्ति न्यौपाने रिसाल र इन्दिरा ढकाल रहेका छन्।

नवनिर्वाचित कार्यसमितिले थप दुई जना सदस्य तथा केही सल्लाहकारसमेत मनोनयन गर्ने जनाइएको छ। नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ।

अनेसास नेपाल च्याप्टरले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन तथा विश्वभर रहेका नेपाली साहित्यकारबीच सहकार्य र सम्बन्ध विस्तारमा भूमिका निर्वाह गर्दै आएको छ।