विपद्का घाइतेका लागि बौनियाँमा आकस्मिक रक्तदान, ७३ पिन्ट रगत संकलन
वि.सं.२०८३ भदौ २१ आइतवार १३:३४
shares

काठमाडौं, २१ भदौ । भोटेकोशी क्षेत्रमा भएको विपद्का कारण घाइते तथा उपचाररत बिरामीका लागि किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा प्रवर्द्धित बर्दगोरिया–३ शून्य क्लब युनियनको आयोजनामा बौनियाँस्थित वसन्तमुरारी नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ भने आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन भएको छ।
कार्यक्रममा क्लबमा आबद्ध विद्यार्थी, युवा तथा स्थानीय समुदायका व्यक्तिहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए। किसान बहुउद्देश्यीय सहकारीको आर्थिक सहयोग, वसन्तमुरारी नमुना माध्यमिक विद्यालयको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।
समुदायमा किसान बहुउद्देश्यीय सहकारीले विद्यालय तथा क्याम्पसका युवाको नेतृत्वमा १५० भन्दा बढी ‘३–शून्य क्लब’ गठन गरी विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
क्लबका अध्यक्ष नविन खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका सञ्चालक सरोजकुमार शाह, महाप्रबन्धक डम्बरबहादुर शाह, विभागीय प्रमुख दीपकराज ढुङ्गाना, विद्यालयका शिक्षक, स्थानीय संघसंस्थाका प्रतिनिधि, पत्रकार, विद्यार्थी तथा रक्तदाताहरूको सहभागिता रहेको थियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने संघसंस्था, रेडक्रसकर्मी तथा रक्तदाताहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ। साथै, ‘रक्तदान, जीवनदान’ भन्ने मूल सन्देशका साथ यस्ता मानवीय सेवाका अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने आयोजकले जनाएको छ।


















