Dhulikhel Eco Banner new

सेयर बजार  : प्राविधिक गडबडीको आवरणमा ‘चलखेल’ भएको लगानीकर्ताको आरोप

403
shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार अनिश्चितकालका लागि स्थगित हुँदा लाखौं लगानीकर्ता अन्योलमा परेका छन्। डाटा सेन्टरमा ‘साइबर आक्रमण’ भएको आधिकारिक दाबी गरिए पनि आम लगानीकर्ताले भने यसलाई बजार म्यानुपुलेट गर्ने ‘ठूलो चलखेल’ को संज्ञा दिएका छन्।

नेप्से र टीएमएस (TMS) विकासकर्ता कम्पनी वाईको (YCO) का अनुसार, ७२ वटा ब्रोकर कम्पनीको सर्भर रहेको ‘डाटा हब प्रा.लि.’ मा साइबर हमलाको पहिचान भएपछि सम्भावित क्षति रोक्न प्रणाली बन्द गरिएको हो। सिडिएससी र पेमेन्ट गेटवेसहितका सबै प्रणाली रोकेर नेप्सेले ब्रोकर एसोसिएसनको आग्रहमा असोज ५ गतेको सम्पूर्ण कारोबार स्थगित गरेको छ। वाईकोले थप जोखिम हुन नदिन प्रयोगकर्तालाई जबरजस्ती लगइन नगर्न समेत सूचना जारी गरेको छ।

तर, नियामक र सेवा प्रदायकको यो स्पष्टीकरणलाई लगानीकर्ताले सहजै पत्याएका छैनन्। बजारमा उतारचढाव आउने समयमा वा बजारले निश्चित गति लिन खोज्दा मात्रै यस्ता ‘प्राविधिक गडबडी’ का खबर बाहिरिनुलाई लगानीकर्ताले शंकास्पद मानेका छन्। सामाजिक सञ्जाल र सेयर फोरमहरूमा लगानीकर्ताहरूले टीएमएस नियतवश बन्द गराएर दलाल र माफियाहरूले बजारलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको गम्भीर आरोप लगाएका छन्।

यस घटनाले देशको अर्थतन्त्रको ऐना मानिने संवेदनशील सेयर बजार एउटा निजी कम्पनीको डाटा सेन्टरको भरमा कति असुरक्षित छ भन्ने तथ्य छर्लङ्ग पारेको छ। लगानीकर्ताको चरम अविश्वास चिर्न नियामक निकायले यस घटनाको स्वतन्त्र प्राविधिक अडिट गराउनुपर्ने र प्रणालीगत सुधारमा तत्काल कदम चाल्नुपर्ने माग सरोकारवालाहरूले उठाएका छन्।