Dhulikhel Eco Banner new

देशका ठाउँठाउँमा टेलिकम सेवा अवरुद्ध, कसरी हुँदैछ व्यवस्थापन ?

403
shares

काठमाडौं, ११ असोज । बिहीबारदेखि देशभर सुरु भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा स्थानमा मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ। नेपाल टेलिकमले सूचना जारी गर्दै ठाउँ ठाउँमा इन्टरनेट र टेलिफोन सेवा समेत अवरुद्ध हुन पुगेको र यसलाई निरन्तरता दिने प्रयास भइरहेको भन्दै धैर्यता अपनाउन आग्रह गरेको छ ।

टेलिकमले यसो भनिरहँदा देशका कुन कुन स्थानमा यस्तो असर गरेको छ त? कम्पनीका प्रवक्ता डा. कमल लामिछाने यसले कुनै खास क्षेत्रमा मात्रै नभएर ठाउँ ठाउँमा असर गरेको बताउँछन् । कुनै ठाउँमा सेवा उपलब्ध भएर पनि गुणस्तरमा कमी आएको उनको भनाइ छ ।  ‘हामीले सूचना जारी गरेर भनेको सेवा अवरुद्ध भएको भन्ने सूचना कुनै स्पेसिफिक क्षेत्र नभई देशभरि नै समस्या छरिएको छ। यसका धेरै कारण छन्’ लामिछाने भन्छन् ।

उनका अनुसार सबैभन्दा ठुलो समस्या विद्युत् आपूर्तिले भएको छ ।निरन्तरको वर्षा र हावाहुरीले धेरै ठाउँमा विद्युत् आपूर्ति बन्द हुँदा मोबाइल टावरहरू सञ्चालनमा समस्या आएको छ। यसबाहेक पहाडी र हिमाली क्षेत्रमा सोलारबाट सञ्चालन हुँदै आएका टावर समेत बन्द भएका छन् । लगातारको वर्षा, बाक्लो बादल र हिमपातका कारण ब्याट्री चार्ज हुन नसकेर आउटेज भएका हुन् ।

कतिपय स्थानमा भने बाढी पहिरोका कारण अप्टिकल फाइबरमा क्षति पुगेकोले पनि इन्टरनेट सेवा प्रवाहमा समस्या रहेको प्रवक्ता लामिछाने बताउँछन् । कतिपय ठाउँमा भने अरु प्राविधिक समस्या देखिएको र ठाउँ ठाउँको पहिरोका कारण बाटो अवरुद्ध भई प्राविधिकहरू जान नसकेकोले पनि सेवा अवरुद्ध भइरहेको उनको भनाइ छ ।

डेटाभन्दा ‘भ्वाइस कल’लाई प्राथमिकता

प्रवक्ता डा. लामिछानेका अनुसार विद्युत् आपूर्ति नभएका र पावर ब्याकअपको भरमा चलिरहेका साइटहरूमा प्राविधिकहरूले डेटा सेवालाई कम गरी भ्वाइस सेवालाई मात्र चलाइराखेका छन्।   ‘पावर ब्याकअप भएको ठाउँमा कमसेकम एउटा सर्भिस भए पनि सुनिश्चित होस् भन्ने हिसाबले डेटालाई कम गर्दै भ्वाइस सेवालाई सुचारु राख्ने प्रयास भइरहेको छ,’ उनले भने।

मर्मतका लागि प्राविधिक तयारी अवस्थामा

हाल प्राविधिक रूपमा सिस्टमबाट गर्न सकिने मर्मत सम्भारको कार्य निरन्तर भइरहेको छ। सम्भव भएका र जोखिम कम भएका स्थानहरूमा बिहानैदेखि प्राविधिकहरू मर्मतमा खटिएको कम्पनीले जनाएको छ।