नेप्सेमा साताभर निराशा : ७३ अर्बले घट्यो बजार पूँजीकरण, प्राविधिक चार्टमा पनि कमजोर ‘मोमेन्टम’
वि.सं.२०८३ असोज १८ आइतवार ०७:२७
520
shares
shares

लगातार ओरालो लाग्दै आएको शेयर बजार (नेप्से) यस साता पनि उकालो लाग्न सकेन। साताका पाँच दिन नै खुलेको बजारमा चार कारोबार दिन गिरावट आउँदा समग्र नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। अघिल्लो साता २६२९.८१ विन्दुमा बन्द भएको नेप्से, यस साता ४२.५६ अंक (१.६२ प्रतिशत) ले घटेर २५८७.२५ विन्दुमा झरेर बन्द भएको छ। साताको एक दिन मात्र बजार सकारात्मक रहनु र सेन्सेटिभ, फ्लोट तथा सेन्सेटिभ-फ्लोट सबै इन्डेक्सहरु १ प्रतिशतभन्दा धेरैले ओरालो लाग्नुले ‘ब्लु चिप’ मानिने ठूला कम्पनीहरुमा समेत लगानीकर्ताको आकर्षण घट्दै गएको पुष्टि हुन्छ।
बजारको यो गिरावटका कारण यसको प्रत्यक्ष असर कारोबार रकम र लगानीकर्ताको सम्पत्तिमा परेको छ। यस साता शेयर बजारबाट लगानीकर्ताले एकैपटक ७३ अर्ब रुपैयाँ गुमाएका छन्। गत साताको अन्तिम दिन ४५ खर्ब २३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यस साता खुम्चिएर ४४ खर्ब ५० अर्ब रुपैयाँमा सीमित भएको छ। बजार पूँजीकरण मात्र नभई दैनिक कारोबार रकममा पनि भारी गिरावट आएको छ। अघिल्लो साता दैनिक औसत ६ अर्ब २८ करोड रुपैयाँ बराबरको शेयर किनबेच हुने गरेकोमा यस साता त्यो रकम २३.६५ प्रतिशतले घटेर ४ अर्ब ७९ करोड रुपैयाँमा खुम्चिएको छ। कारोबार रकमसँगै दैनिक शेयर खरिदबिक्री कित्तामा करिब ४० प्रतिशत र कारोबार संख्यामा झन्डै १६ प्रतिशतको गिरावटले बजारमा तरलता र उत्साह दुवैको कमी रहेको प्रस्ट पार्छ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा यस साता नेप्सेमा सूचीकृत १३ वटै उपसमूह राताम्मे बनेर लगानीकर्तालाई निराश बनाएका छन्। सबैभन्दा बढी मारमा होटल तथा पर्यटन क्षेत्रका लगानीकर्ता परेका छन्। यो उपसमूहको परिसूचक सर्वाधिक २.७१ प्रतिशत (१९४.११ अंक) ले घटेर ६९७७.०८ विन्दुमा ओर्लिएको छ। अंकको आधारमा भने जीवन बीमा उपसमूह सर्वाधिक २३२.७६ अंकले ओरालो लागेको छ। यद्यपि, घट्दो बजारमा पनि बैंकिङ्ग उपसमूह र म्युचुअल फन्डका लगानीकर्ताले भने तुलनात्मक रुपमा कम नोक्सानी व्यहोर्नु परेको छ। बैंकिङ्ग उपसमूह जम्मा ०.६८ प्रतिशत (१०.३० अंक) ले घट्दा म्युचुअल फन्डको परिसूचक सबैभन्दा कम ०.२० अंकले मात्रै ओरालो लागेको छ।
प्राविधिक विश्लेषण (टेक्निकल एनालाइसिस) का आधारमा हेर्दा नेप्सेको साप्ताहिक र दैनिक चार्ट दुवैले बजारमा ‘बियरिस’ दबाब कायमै रहेको संकेत गरेका छन्। दैनिक चार्टमा ‘लोअर हाई’ र ‘लोअर लो’ (Lower High, Lower Low) को श्रृंखला बन्दै गएको देखिन्छ, जसले बजारले अझै पनि उकालो लाग्ने स्पष्ट दिशा समात्न नसकेको देखाउँछ। एमएसीडी (MACD) इन्डिकेटर नेगेटिभ जोनमा रहनु र आरएसआई (RSI) ४३ देखि ४५ को विन्दुमा हुनुले बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ताको चाप बढी भएको र माथि जाने ‘मोमेन्टम’ कमजोर रहेको प्रस्ट पार्छ। यद्यपि, बजार २५०० देखि २५४६ विन्दुको बलियो ‘सपोर्ट लेभल’ नजिकै रहेकाले आगामी दिनमा त्यहाँबाट फर्किन सक्ने प्राविधिक सम्भावना भने चार्टमा देख्न सकिन्छ।

समग्र बजारमा सुस्तता छाए पनि यस साता केही निश्चित कम्पनीहरुले भने लगानीकर्तालाई नाफा दिएका छन्। सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक ७.२० प्रतिशतले बढेको छ भने माण्डू हाइड्रोपावर र १०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९ को मूल्यमा ७ प्रतिशतको वृद्धि देखिएको छ। अर्कोतर्फ, एपोलो हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै (११.८० प्रतिशत) नोक्सानी व्यहोर्नु परेको छ। बजारको भित्री कारोबार (फ्लोरसिट) विश्लेषण गर्दा यस साता ७ प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर, शाइन रेसुङ्गा डिबेन्चर र एभरेष्ट बैंकजस्ता कम्पनीहरु धेरै खरिद गरिएका (मोस्ट पपुलर बाइ) स्टकको शीर्ष स्थानमा परेका छन्। त्यसैगरी, इमर्जिङ्ग नेपाल, मन्दाकिनी हाइड्रोपावर र फरवार्ड माइक्रोफाइनान्स भने लगानीकर्ताले सबैभन्दा बढी बेचेका (मोस्ट पपुलर सेल) स्टक बनेका छन्। यसै साता बजारमा युनाइटेड अजोड इन्स्योरेन्स र कालिका पावरको गरी १६ लाख ४३ हजार ७६४ कित्ता बोनस शेयरसमेत सूचीकृत भएर कारोबारका लागि थपिएको छ।
















