Dhulikhel Eco Banner new

कर्णालीबाट कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश भण्डारीको उम्मेदवारी

663
shares

काठमाडौं, २० असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कर्णाली प्रदेशबाट भूगोलतर्फ केन्द्रीय सदस्य पदमा प्रकाश भण्डारीले उम्मेदवारी दिएका छन्। सल्यानको बरला–६ मा २०४४ वैशाख ९ गते जन्मिएका भण्डारी दुई दशकभन्दा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय छन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनले संगठन निर्माणदेखि स्थानीय तहको नेतृत्वसम्म हासिल गरेको अनुभवलाई केन्द्रीय सदस्यको उम्मेदवारीको मुख्य आधार बनाएका छन्।

भण्डारीले २०६० सालमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसक्रममा CITE कलेजको एकाइ सभापति, प्राविधिक विद्यार्थी परिषद्को केन्द्रीय सचिव तथा नेविसंघ सल्यानको सहसचिव, सचिव, उपसभापति र जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले। विद्यार्थी राजनीतिमा रहँदा उनले विद्यार्थीका हकहित, शैक्षिक सुधार तथा संगठन विस्तारका विषयमा काम गरेका थिए।

पार्टी राजनीतिमा सक्रिय भएपछि २०६७ सालमा कांग्रेसको १२औँ महाधिवेशनका लागि सल्यानबाट क्षेत्रीय महाधिवेशन प्रतिनिधि बनेका भण्डारी २०७२ सालको जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित भए। २०७५ सालमा जिल्ला कार्यसमितिको सचिव बनेका उनी हाल दोस्रो कार्यकालमा उक्त जिम्मेवारीमा छन्। जिल्ला संगठनमा लामो समय काम गर्दै वडा, पालिका र जिल्ला तहका कार्यकर्तासँग निरन्तर समन्वय गरेको अनुभवलाई उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधार मानेका छन्।

स्थानीय तहको नेतृत्वमा काम गर्दा विकास निर्माण, पूर्वाधार तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा नागरिकका आवश्यकता बुझ्ने अवसर पाएको भण्डारीको भनाइ छ। स्थानीय तहमा हासिल गरेको यही अनुभवलाई पार्टीको नीति निर्माण र केन्द्रीय नेतृत्वसँग जोड्ने उनको लक्ष्य छ।

केन्द्रीय सदस्यको उम्मेदवारीमार्फत कर्णालीका राजनीतिक, सामाजिक तथा विकाससम्बन्धी मुद्दालाई राष्ट्रिय बहसमा स्थापित गर्ने, पार्टी संगठनलाई तल्लो तहसम्म थप सुदृढ बनाउने, युवाको सहभागिता बढाउने तथा वडा, पालिका र जिल्ला तहका कार्यकर्ताका आवाजलाई केन्द्रीय नेतृत्वसम्म पुर्‍याउने विषयलाई उनले प्राथमिकतामा राखेका छन्। दुई दशकभन्दा लामो राजनीतिक अनुभव, विद्यार्थी संगठनदेखि जिल्ला नेतृत्वसम्मको जिम्मेवारी र स्थानीय तहको अनुभवलाई आधार बनाउँदै भण्डारीले कर्णालीको भूगोलबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रभावकारी प्रतिनिधित्व गर्ने लक्ष्यसहित १५औँ महाधिवेशनमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्।