मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प
वि.सं.२०८३ असोज २२ बिहीवार ११:१४
shares

काठमाडौं, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आठवटा युद्ध अन्त्य गराएकाले नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने बताएका छन् ।
बुधबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गरेका हुन् ।
‘कुनै पनि राष्ट्रपतिले कहिल्यै युद्ध अन्त्य गराएका छैनन् । मैले आठवटा युद्ध अन्त्य गराएँ र सम्भवत: विश्वलाई पूर्ण रूपमा ध्वस्त हुनबाट पनि जोगाएँ,’ उनले भने, ‘त्यसैले मैले नोबेल शान्ति पुरस्कार पाउनुपर्छ ।’
सन् २०२६ को नोबेल शान्ति पुरस्कारको घोषणा नोर्वेजियन नोबेल समितिले शुक्रबार गर्ने कार्यक्रम छ ।
पुरस्कारबारे पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले समितिको निर्णय आफूलाई थाहा नभएको बताए । ‘उनीहरूको यस्तो छवि छ कि सायद उनीहरूले म जस्ता मानिसलाई यो पुरस्कार दिँदैनन्,’ उनले भने ।
दोस्रोपटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी पटक–पटक गर्दै आएका छन् ।
ओभल अफिसमा उनले यसपटक आफूले पुरस्कार पाउने समय आएको हुनसक्ने बताए । उनका अनुसार यसअघि नोबेल शान्ति पुरस्कार प्राप्त गरेका एक व्यक्तिले इतिहासमा अरू कसैभन्दा बढी आफू यो पुरस्कारका लागि योग्य रहेको बताएका थिए ।
‘उहाँमार्फत अप्रत्यक्ष रूपमा यो सम्मान पाएर म पहिले नै निकै सम्मानित महसुस गरिसकेको छु,’ ट्रम्पले भने ।
यसअघि भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले जनवरीमा आफ्नो सन् २०२५ को नोबेल शान्ति पुरस्कारको पदक ट्रम्पलाई हस्तान्तरण गरेकी थिइन् ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेदेखि नै आफूले विश्वका विभिन्न द्वन्द्व अन्त्य गर्न भूमिका खेलेको दाबी गर्दै नोबेल शान्ति पुरस्कारका लागि आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।


















