Dhulikhel Eco Banner new

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा–आराधना

286
shares

काठमाडौँ — बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज देशभरका दसैँघर, पूजाकोठा र शक्तिपीठहरूमा नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिँदै छ । घटस्थापनासँगै सुरु भएको नवरात्रमा प्रत्येक दिन देवीका नौ फरक स्वरूपको उपासना गर्ने परम्पराअनुसार आज स्कन्दमाताको वन्दना गरिएको हो ।

धार्मिक शास्त्रहरूमा उल्लेख भएअनुसार सिंहासनमा विराजमान र दुवै हातमा कमलको फूल धारण गरेकी स्कन्दमाताको पूजा गर्नाले भक्तजनलाई शक्ति, ऐश्वर्य र अगाध विद्या (ज्ञान) प्राप्त हुने जनविश्वास छ । यही आस्थाका साथ श्रद्धालुहरूले बिहानैदेखि दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्रहरूको वाचन गरिरहेका छन् ।

देवीको यस स्वरूपको नाम पौराणिक पात्र ऋषि सनतकुमारसँग जोडिएको छ । शिव र पार्वती ऋषिको सभामा जाँदा ध्यानमग्न सनतकुमार नउठेपछि पार्वतीले उनलाई उँट बन्ने श्राप दिएको तर पछि उनको अद्भूत ज्ञान र ब्रह्मचिन्तनबाट प्रभावित भएर पुत्रका रूपमा जन्म लिन आग्रह गरेको कथा शास्त्रमा पाइन्छ । सनतकुमारले पार्वतीको उक्त इच्छा स्वीकार गरेपछि देवीको यस रूपलाई ‘स्कन्दमाता’को नामबाट पुजिने गरिएको मान्यता छ ।

नवरात्रभर क्रमशः शैलपुत्रीदेखि सिद्धिदात्रीसम्मका नौ दुर्गाको विशेष पूजा आराधना गर्ने चलन छ । यसरी नौ दिनसम्म उपासना गरी स्थापना गरिएको जमरा र देवीको प्रसाद विजयादशमीका दिन मान्यजनको हातबाट ग्रहण गरिन्छ । यो क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने भएकाले नेपालीहरूले बडादसैँलाई १५ दिनको महान् पर्वका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् ।