Dhulikhel Eco Banner new

वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र आउँदै, असोज २९ बाट आवेदन खुला

221
shares

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले आगामी असोज २९ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी ७ वर्ष अवधिको ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ सर्वसाधारण र व्यक्तिगत तवरबाट बिक्री खुला गर्न लागेको हो।

बैंकका अनुसार प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता निष्कासन गरिनेछ। जसमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट (प्राइभेट प्लेसमेन्ट) बिक्री गरिनेछ। बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता भने सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फको कुल कोटाबाट ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि सुरक्षित गरिएको छ।

यस ऋणपत्रमा लगानी गर्न चाहनेले न्यूनतम २५ कित्तादेखि अधिकतम उपलब्ध सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको यस निष्कासनमा छिटोमा कात्तिक १० गते र पर्याप्त आवेदन नपरेको खण्डमा ढिलोमा कात्तिक १२ गतेसम्म फारम भर्न सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ एपमार्फत सहजै आवेदन दिन सक्नेछन्।

बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्स नेपालले ‘केयर–एनपी सिंगल ए प्लस’ रेटिङ दिएको छ।