Dhulikhel Eco Banner new

बहुप्रतीक्षित एनपीएल आजदेखि कीर्तिपुरमा सुरु हुँदै, प्रधानमन्त्री बालेन शाहले उद्घाटन गर्ने

1.12K
shares

काठमाडौँ — नेपाली क्रिकेटको सर्वाधिक ठूलो व्यावसायिक प्रतियोगिता ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को तेस्रो संस्करण आज (सोमबार) बाट कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहले यस प्रतियोगितालाई ‘नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सव’को संज्ञा दिँदै विदेशी खेलाडीको स्वागत र नेपाली क्रिकेटको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

यसपटकको एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट औपचारिक टी–२० मान्यता पाएको छ, जसले खेलाडीको प्रदर्शनलाई अन्तर्राष्ट्रिय रेकर्डमा दर्ता गराउनेछ । आज हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । आठ फ्रेन्चाइज टोली सहभागी यस प्रतियोगिताको पहिलो खेल साँझ साढे ४ बजे सुरु हुने तालिका छ ।

एनपीएल अब क्रिकेट खेलमा मात्र सीमित नभई बलियो आर्थिक उद्योगका रूपमा स्थापित भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले यस वर्ष प्रसारण र टिकट बिक्री अधिकारबाटै ३३ करोड ५३ लाख रुपैयाँ सुनिश्चित गरिसकेको छ । नेटटीभीले विश्वव्यापी डिजिटल, हिमालय टीभीले स्वदेशी टेलिभिजन र ईसेवाले टिकट अधिकार खरिद गरेका हुन् । साथै, नेपाली क्रिकेट इतिहासमै पहिलोपटक करिब दुई करोड रुपैयाँ लागतमा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधिको समेत प्रयोग गरिँदैछ ।

प्रतियोगिताको मुख्य आकर्षण विश्वक्रिकेटका चर्चित हस्तीहरूको उपस्थिति बनेको छ । अस्ट्रेलियाका डेभिड वार्नर, दक्षिण अफ्रिकाका डेभिड मिलर, वेस्ट इन्डिजका आन्द्रे रसेल र शेरफेन रदरफोर्ड, बंगलादेशका सकिब अल हसन, इंग्ल्यान्डका मोइन अली लगायतका स्टार खेलाडीहरू विभिन्न फ्रेन्चाइजबाट मैदान उत्रिँदैछन् । यसले अन्तर्राष्ट्रिय स्तरमै एनपीएलको चर्चा बढाएको छ ।

मंसिर २५ गतेसम्म चल्ने यस प्रतियोगिताले मैदानभित्रको माहोल मात्र नभई बाहिरको अर्थतन्त्रलाई पनि चलायमान बनाउने अपेक्षा गरिएको छ । खेल हेर्न आउने दर्शकको चापले यातायात, होटल, रेस्टुरेन्ट र साना व्यापारीहरूलाई राम्रो आर्थिक लाभ मिल्नेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्टस् र अनलाइनखबरले गर्दैछन् ।