Dhulikhel Eco Banner new

नेपाल–भारत पर्यटन जोड्दै ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ सुरु

741
shares

काठमाडौं, ०९ कार्तिक। भारतीय पर्यटकको आगमन बढाउने र नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ सुरु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कात्तिक ९ देखि ११ गतेसम्म सञ्चालन हुने कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यवसायीबीच व्यावसायिक सहकार्य विस्तारमा जोड दिइएको छ।

कार्यक्रममा भारतका विभिन्न सहरबाट आएका २१ जना पर्यटन व्यवसायी तथा प्रतिनिधि सहभागी छन्। उनीहरूले नेपाली होटल, रिसोर्ट, ट्राभल कम्पनी र स्थानीय पर्यटन व्यवसायीसँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्नेछन्। आयोजकका अनुसार भारतीय पर्यटन बजारमा नेपालको प्रचारप्रसार गर्नुका साथै दुवै देशका व्यवसायीबीच दीर्घकालीन सम्बन्ध स्थापित गर्नु कार्यक्रमको प्रमुख उद्देश्य हो।

कार्यक्रममार्फत लुम्बिनी, रामग्राम, देवघाट, नवलपुर र चितवनलाई एउटै पर्यटन सर्किटमा जोड्ने सम्भावनाबारे छलफल गरिनेछ। लुम्बिनीको बौद्ध सम्पदा, चितवनको वन्यजन्तु तथा प्राकृतिक पर्यटन, नवलपुरको थारू संस्कृति र पोखराको साहसिक पर्यटनलाई समेटेर संयुक्त पर्यटन प्याकेज विकास गर्ने योजना छ। यसले भारतीय पर्यटकलाई नेपालका विविध गन्तव्यमा भ्रमण गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका संयोजक तथा एनआरएनए प्रवक्ता सोमनाथ सापकोटाका अनुसार पर्यटन प्रवर्द्धन प्रचार सामग्री वितरणमा मात्र सीमित नराखी भारतीय व्यवसायीलाई नेपाली गन्तव्यको प्रत्यक्ष अनुभव गराउने र होटल तथा रिसोर्ट सञ्चालकसँग व्यावसायिक सम्बन्ध जोड्ने उद्देश्य राखिएको छ। आयोजकले यस पहलबाट पर्यटकको बसाइ अवधि बढाउन, पर्यटन व्यवसायको बजार विस्तार गर्न, स्थानीय रोजगारी सिर्जना गर्न र पर्यटन क्षेत्रमा लगानीका अवसर बढाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।