Dhulikhel Eco Banner new

जनकपुर बोल्ट्ससँग जोडियो मुक्तिनाथ विकास बैंक, बन्यो आधिकारिक बैंकिङ साझेदार

663
shares

काठमाडौं, ०९ कार्तिक। मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ। यससम्बन्धी सम्झौतापत्रमा बैंक र जनकपुर बोल्ट्सबीच हस्ताक्षर भएको हो। यस सहकार्यले नेपाली क्रिकेटको व्यावसायिक विकाससँगै स्थानीय प्रतिभा र युवालाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले जनकपुर बोल्ट्ससँगको साझेदारीलाई जर्सीमा लोगो राख्ने व्यावसायिक सम्झौतामा मात्र सीमित नरहेको बताएका छन्। उनका अनुसार क्रिकेटमार्फत समुदायसँग जोडिने, स्थानीय खेल प्रतिभालाई अघि बढाउने र युवा सशक्तीकरणमा योगदान पुर्‍याउने उद्देश्यले सहकार्य गरिएको हो।

जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले पनि साझेदारीलाई स्वागत गरेका छन्। उनले समुदायसँग नजिक रहेर सेवा प्रदान गर्ने बैंकको सोच र मधेशका जनतासँग जोडिने टोलीको लक्ष्यबीच समानता रहेको उल्लेख गरेका छन्। उनका अनुसार बैंकको साथले टोलीको मैदानभित्र र बाहिरको गतिविधिमा थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले तेस्रो संस्करणमा पुनः उपाधि जित्ने लक्ष्य राखेको छ। यस सिजनका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक टी–२० मान्यता दिएको छ। यससँगै प्रतियोगितामा खेलाडीले बनाउने रन, लिने विकेट र व्यक्तिगत प्रदर्शन आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुनेछन्।

मुक्तिनाथ विकास बैंकले ग्राहककेन्द्रित सेवा, नवीनता र वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको छ। बैंकले खेलकुदमार्फत समुदायसँगको सम्बन्ध विस्तार गर्नुका साथै नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने अवसरका रूपमा यस साझेदारीलाई लिएको जनाएको छ।