Dhulikhel Eco Banner new

दशैँपछिको पहिलो कारोबारमा नेप्से ४.३४ अंकले घट्यो

741
shares

काठमाडौं, ०९ कार्तिक।  दशैँ बिदापछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। दशैँअघि लगातार सात कारोबार दिन बढेको बजार बिदापछि भने ओरालो लागेको हो।

सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.१७ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले घटेका छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन अर्थात् असोज ३० गते ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार ४ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन ३४१ वटा स्टकको ३८ हजार ७८८ पटकको कारोबारमा १ करोड ३ लाख ४३ हजार कित्ता सेयर किनबेच भएकाे छ।

घटेको बजारमा बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड (BENH) १४.९९ प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२ रुपैयाँ ९० पैसाले बढेर ४०५ रुपैयाँ ९० पैसामा  कारोबार भएको छ। यस दिन माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य करिब ६ प्रतिशतले बढेको छ। त्यस्तै, सोनापुर मिनरल्स एण्ड आयलको सेयर मूल्य ५ प्रतिशतले वृद्धि भएको छ।

बजारमा केही कम्पनीको सेयर मूल्य बढे पनि चिरख्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको सेयर मूल्य यस दिन ७.९२ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको २३ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्सको साढे २० करोड रुपैयाँभन्दा बढी र माउन्टेन इनर्जी नेपालको करिब १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको घटेको छ। व्यापार उपसमूह सर्वाधिक १.११ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यता, विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशतले घटेको छ।