आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:२४
shares

काठमाडौं,१३ कार्तिक। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसिटी अवार्ड २०२६ अन्तर्गत चार विधामा ५० वटा स्टार्टअप तथा इनोभेसन सेमिफाइनलका लागि छनोट भएका छन्। उत्कृष्ट पाँचको छनोटका लागि आगामी मंसिरको पहिलो साता स्टार्टअप फेस्ट तथा ग्रान्ड जुरी सेसन आयोजना हुने भएको छ।
आइसिटी अवार्डको ११औँ संस्करणअन्तर्गत स्टार्टअप, सोसल इनोभेसन, प्रडक्ट र राइजिङ स्टार इनोभेसन विधाका सेमिफाइनलिस्ट सार्वजनिक गरिएको हो। यस वर्ष यी चार विधामा २३० भन्दा बढी अनलाइन आवेदन प्राप्त भएका थिए। दुई चरणको छनोट प्रक्रियापछि स्टार्टअप आईसीटी अवार्डतर्फ १० टेक स्टार्टअप, १० सोसल इनोभेसन, १५ प्रडक्ट र १५ राइजिङ स्टार इनोभेसन छनोट भएका हुन्।
छनोट भएका उत्कृष्ट १० स्टार्टअपमा आशिर्वाद केयर प्रा. लि., एक्सेलेरेटेड कम्प्युटिङ प्रा. लि., फ्युलिङ एम्बिसन्स प्रा. लि., गरुडएक्स मल्टिपर्पस प्रा. लि., गोमाइगो बुकिङ्स प्रा. लि., लुमिनो टेक्नोलोजी प्रा. लि., रेफेरो सोलुसन्स प्रा. लि., समएक्स इन्क प्रा. लि., योद्धा ल्याब प्रा. लि. र जेलियन्ट कम्पनी प्रा. लि. रहेका छन्।

त्यस्तै, सोसल इनोभेसनतर्फ बारबर्दिया एग्रो–मेटेरोलोजिकल मेसेज एन्ड एडभाइजरी सिस्टम, खेल्दै सिक्दै कक्षा, कोपिला भ्याली स्कुल मेकर स्पेस, निदान ईएचआर, रिजेन नेपाल, राइड टु अर्न, सेतु, अपस्केलिङ स्मार्ट पब्लिक ट्वाइलेट्स फर बेटर स्यानिटेसन, वायुदृष्टि–वायुसेना र वेस्ट म्यानेजमेन्ट सिस्टम छनोट भएका छन्।

प्रडक्ट विधामा आशिर्वाद केयर, बाइटआउट, सेन्ट्रोनिक्स–सेन्ट्रल मोनिटरिङ सिस्टम, दन्त–मेड, एक्साना, आईएमएस डिजिटल लेन्डिङ, आईपी सेवा, काठमाडौं साइटसिइङ, लेख्नुस्, नेपाल एचआरएम, वान बीएनपीएल, अप्ट ईआरपी, प्यागोडा ल्याब्स डीएमएस, पीडीएफ मर्जली र वायुदृष्टि एटमोस छनोट भएका छन्।

यसैगरी, राइजिङ स्टार इनोभेसन विधामा दृष्टिल्याब्स, इभोएमओई, हरित पाठशाला, किड्डीगार्ड, लाइफ लाइन, प्रेडिक्शन अफ प्रेडिक्शन, साक्षी, सेतु, स्काइट्रूप–पी१, सुरक्षा ३६०, स्वर–साथी, सिन्याप्टिक, द कैरोस इन्जिन, ट्राफिक आई र जेलियन्ट सप सेमिफाइनलमा पुगेका छन्।

उत्कृष्ट पाँचका लागि स्टार्टअप फेस्ट र ग्रान्ड जुरी
सेमिफाइनलमा छनोट भएका ५० वटै टिमले आगामी मंसिरको पहिलो साता आयोजना हुने स्टार्टअप एन्ड आइडिया फेस्टमा आफ्ना उत्पादन, सेवा तथा नवप्रवर्तन प्रदर्शन गर्नेछन्। त्यसपछि आयोजना हुने ग्रान्ड जुरी सेसनमा सहभागी टिमले जुरी सदस्यहरूसमक्ष आफ्नो प्रस्तुति दिनुका साथै स्पिड डेटिङमा सहभागी हुने अवसर पाउनेछन्।
यी प्रक्रिया पूरा भएपछि प्रत्येक विधाबाट उत्कृष्ट पाँच छनोट गरिनेछ। छनोट भएका टिम ग्रान्ड फिनालेमा सहभागी हुनेछन्। अन्तिम विजेता पहिचान गर्न फिल्ड भिजिट तथा पब्लिक भोटिङसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
आइसिटी अवार्ड २०२६ अन्तर्गत व्यक्तिगत अवार्ड विधा (ट्र्याक बी) मा पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड र प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड (वुमन) रहेका छन्।
त्यस्तै, संस्थागत अवार्ड विधा (ट्र्याक सी) अन्तर्गत डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड, डिजिटल सर्भिसेस (इमर्जिङ सेक्टर) आईसीटी अवार्ड र डिजिटल सर्भिसेस (इन्टरप्राइज सेक्टर) आईसीटी अवार्ड रहेका छन्। यी विधाको छनोट प्रक्रिया पनि जारी रहेको आयोजकले जनाएको छ।
दक्षिण एसियाली देशहरूलाई लक्षित गर्दै साउथ एसिया स्टार्टअप अवार्ड २०२६ र साउथ एसिया एआई इनोभेसन आईसीटी अवार्ड २०२६ समेत सञ्चालन भइरहेका छन्।
यस वर्षको आइसिटी अवार्डका लागि २०८३ साउनदेखि आवेदन खुला गरिएको थियो। विभिन्न १६ विधामा ७०० भन्दा बढी अनलाइन आवेदन प्राप्त भएको आयोजकले जनाएको छ। छनोट प्रक्रियाका लागि नेपालका १४ जना विज्ञसहित अन्तर्राष्ट्रिय जुरी सदस्यहरू सहभागी छन् भने १५ सदस्यीय विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ।
लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा सञ्चालन हुँदै आएको आइसिटी अवार्ड सन् २०१६ देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको छ। प्रविधि, उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिने यस अवार्डको छनोट प्रक्रिया २५ विभिन्न चरणमा सञ्चालन हुने आयोजकको भनाइ छ। विस्तृत जानकारी अवार्डको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।




















