Dhulikhel Eco Banner new

कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न

559
shares

काठमाडौं, १६ कात्तिक। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’ को छैटौँ संस्करण सम्पन्न गरेको छ । आइतबार धन्वन्तरी फुटसलमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृतलगायत विभिन्न विभागका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

मुख्य प्रतियोगिता सुरु हुनुअघि नेपाल आर्थिक पत्रकार संघ (NAFIJ),नेपाल खेलकुद पत्रकार मञ्च (SEJON) तथा नेपाल विज्ञापन संघ (EMAN) बीच मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो । उक्त मैत्रीपूर्ण प्रतिस्पर्धामा नाफिजले उपाधि जित्न सफल भएको थियो ।

प्रतियोगिताको पुरुषतर्फको फाइनलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै उपाधि जितेको छ । त्यस्तै, महिलातर्फको फाइनलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै उपाधि रक्षा गरेको छ ।

प्रतियोगिताको समापन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाहरूबीच खेलकुदका माध्यमबाट आपसी सम्बन्ध, एकता र सहकार्यलाई थप मजबुत बनाउँदै आएको छ । साथै, विभिन्न संस्थाका कर्मचारीलाई कार्यक्षेत्रभन्दा बाहिर खेलकुदमार्फत एकै ठाउँमा जोड्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सहयोग पुर्‍याउँदै आएको बैंकले जनाएको छ ।

यसैबीच, बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा कात्तिक १८ गते बुधबार देशव्यापी रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।